दमक/झापाको दमकस्थित सरकारी स्वामित्वको दमक अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अस्पतालको सेवा बन्द गरिएको छ । अस्पतालका चिकित्सक सहित स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखा परे पछि अस्पतालको सेवा बुधबारदेखि शुक्रबारसम्मलाई बन्द गरिएको हो ।
१५ वेडको दमक अस्पतालमा करारका सहित १ सय १६ जना स्वास्थ्यकर्मी तथा कर्मचारी रहेका छन् । जस मध्ये दैनिक सेवामा खटिने आधा भन्दा धेरै कर्मचारीलाई कोरोना संक्रमण भएकाले अत्याआवश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गरिएको अस्पतालले जनाएको छ । दैनिक ८ सय देखि १ हजारसम्म विरामीले सेवा लिँदै आएको सो अस्पतालमा कोरोनाका कारण स्वास्थ्यकर्मी नै विरामी पर्न थाले पछि जिल्लामा अन्य स्वास्थ्य केन्द्र समेत प्रभावित भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
