साझा निष्कर्ष
दमक/ झापा जिल्ला प्रशासनले ७ माघदेखि नै सार्वजनिकस्थलमा खोप कार्ड अनिवार्य लगायत स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना अनिवार्य गरेपनि लागू हुन सकेको छैन । सरकारी कार्यालयहरुमा प्रशासनको सो आदेश पालना गर्नुपर्ने ब्यहोराको सूचना औपचारिकताका लागि टाँस गरिएको छ तर सूचना अनुसार न त सम्बन्धित कार्यालयका कर्मचारीनै चलेका छन न त सर्वसाधारणनै ।
माघ ७ गते शुक्रबार परेको थियो । कतिपय कार्यालयले त्यस्तो ब्यहोराको सूचना टाँस सम्म गर्न भ्याएनन । शनिबार कार्यालय विदा भए । त्यसको कुनै औचित्यनै रहेन । आइतबार अर्थात सामान्यतया सरकारी अडडा तथा सेवाग्राहीको बाक्लो उपस्थिती रहन सक्ने सम्भावना भएको दिन दमकस्थित मालपोत तथा नापी कार्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आनाकानी गरेको पाइयो । कार्यालयहरुले खोप कार्डसहित सेवा लिनका लागि आउन सर्वसाधारणलाई सूचना गरेपनि त्यसको कार्यान्वयन व्यवहारिक रुपमा निक्कै जटिल देखिन्थ्यो । कार्यालय नजिकैका लेखापढी कार्यालयहरुमा कतिपयले सेनिटाइजरको प्रयोग गरेको देखिएपनि धेरै जसो न लेखापढी सम्बन्धिको काम गर्ने कार्यालयमा त्यसको कार्यान्वयन भएको देखियो न त मालपोत र नापी कार्यालयमा नै । सेवाग्राहीहरुले पनि एक अर्कामा भौतिक दुरी कायम राख्नुको सट्टा आफू पहिला सेवा लिएर आफनो काम सक्ने हतारोमा नै देखिन्थे ।
मालपोत कार्यालयको प्रवेशद्धारमा सुरक्षाकर्मीले खोप कार्ड देखाउन भन्दा सेवाग्राही एकैछिन काम छ, बिर्सिएछु , खोप त लगाएकै छैन , जस्ता रेडिमेड जवाफ फर्काउदैं अटेरी शैलीमा कार्यालय हाता भित्र प्रवेश गरेको दृश्य अशोभनिय थियो भने कार्यालयले समेत प्रवेशद्धारमा सार्वजनिक प्रयोजनका लागि सेनिटाइजरको सम्म व्यवस्था गरेको देखिदैन थियो । सुरक्षागार्ड सेवाग्राहीको मुखमा हुनुपर्ने मास्क चिउँडोमा झुण्डिएको देखेर मास्क मास्तिर सार्नु …भन्दै सुझाइरहेका थिए ।
दमकको सबैभन्दा भिडभाड हुने क्षेत्र भनिएका यि कार्यालयको मात्रै होइन वडा कार्यालय र नगरपालिका कार्यालयमा समेत आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नभएको दृश्यले स्थानीय सरकारको कमजोर व्यवस्थापन पुष्टि गरिरहेको थियो । अझै रोचक बिषय त के छ भने दमक नगरपालिका कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना जगाउने मामिलामा सबैभन्दा अगाडी र पहिलो नगरपालिका भनेर दाबी गर्नेहरुको कमि छैन । बजार क्षेत्रमा व्यवसायीहरु पनि मास्क र सेनिटाइजरको प्रयोग समेत गर्न गराउन संवेदनशील भएको देखिएन । तरकारी बजार र अन्य होटल तथा खाजा घरहरुको दृश्य उस्तै थियो । कोरोना विरुद्ध सचेतना जगाउन भन्दै नगरपालिकाबाट सामाजिक संघ संस्था र एकाध आफू अनुकुल र कमिसनमुखि मिडियामा भइरहेको खर्चको परिणाम भने हात लागि शुन्य भने जस्तै छ । तथ्याङकमा दमक नगर भित्र अहिले सम्म ६५ हजार हाराहारीमा कोरोना विरुद्धको पहिलो र दोश्रो खोपको डोज लगाइसकिएको छ । दमकमा लगाइएका ति खोप दमकबासीले मात्रै लगाएका हुन भने दमकको करिब दुई तिहाई जनसंख्याले खोप लगाइसकेको अनुमान गर्न सकिन्छ ।

