दमक/ दमक ५ स्थित सानो प्रयास युवा समाज नामक संस्थाले आज ( शनिबार ) दमकका घर घरमा उत्पादन हुने फोहोर व्यवस्थापनमा सहयोग पुरयाउने उद्धेश्यले २० थान डस्टविन राखेको छ । दमक ५ स्थित भृकुटी चोकमा संक्षिप्त कार्यक्रम गरि डस्टविन राख्ने कार्यक्रमको औपचारिक शुरुवात गरिएको हो ।
दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङले सो संस्थाले फोहोर व्यवस्थापनको क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले जनचेतना जगाउने कार्यमा संघ संस्थाको भुमिका महत्वपूर्ण हुने भन्दै टोलबासीलाई डस्टविनको उचित सदुपयोग गर्न सुझाए । संस्थाका अध्यक्ष सुरज श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा जिवन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतम र हेप्पी नेपालका महासचिव सुरेन्द्र श्रेष्ठले पनि सामाजिक चेतना र फोहोर व्यवस्थापनका बिषयमा आफनो विचार राखेका थिए । सो संस्थाले दमकका विभिन्न स्थानमा त्यस किसिमका २० वटा डस्टविन राखेर जनचेतना जगाउन सन्देश छोडने बताइएको छ । सानो प्रयास युवा समाजले कोरोना महामारीका समयमा अस्पतालका बिरामी र कुरुवालाई बसेकै ठाउँमा भोजनको व्यवस्था गरेको थियो । विभिन्न समयमा सो संस्थाले युवाहरुलाई सामाजिक कृयाकलापमा सहभागी गराउँदै आएको छ ।



