दमक/ पछिल्लो समय झापामा कोभिड– १९ को तेश्रो भेरियन्ट तिब्र रुपमा फैलिएपछि झापाली पत्रकारहरु समेत यसबाट प्रत्यक्ष प्रभावित भएका छन । सो भेरियन्ट शुरु भएयता झापाका ११ जना पत्रकार संक्रमित भएका छन् । आज शुक्रबार सम्म जिल्लाका विभिन्न सञ्चारमाध्यममा कृयाशील ११ जना पत्रकार संक्रमित भएका नेपाल पत्रकार महासंघ झापा शाखाले जनाएको छ ।
शाखाका अध्यक्ष एकराज गिरीका अनुसार महासंघ झापा शाखाका सचिव डिकेश लामा, राष्ट्रिय समाचार समिति मेचीकी प्रमुख अम्बिका भण्डारी, गोपाल गिरी ,साबित्रा दाहाल, सुब्रत न्यौपाने, सुनिरा मैनाली ,कृष्ण कार्की, गिरिराज भट्टराई ,इन्द्र न्यौपाने र राजु अधिकारी संक्रमित भएका छन । पत्रकार गिरी भने आज मात्रै संक्रमण मुक्त भएका छन ।
यसअघि पहिलो र दोश्रो भेरियन्ट यता जिल्लाका ५१ जना पत्रकार संक्रमित भएको महासंघले जनाएको छ । संक्रमित मध्ये बिर्तामोड निवासी पत्रकार कमल मिश्रको काठमाडौमा र कमल गाउँपालिका ५ निवासी गणेशप्रसाद शिवाकोटीको दमकमा उपचारका क्रममा निधन भइसकेको छ ।
यसैवीच ,महासंघले संक्रमित पत्रकारहरुको स्वास्थ्य अवस्था बुझदै पोषणसहित स्वास्थ्य सुरक्षाका सामाग्रीहरु घरघर पुगेर वितरण गरेको छ ।
जिल्लाको माइपश्चिम क्षेत्रका संक्रमित तीन जना पत्रकारको घरैमा पुगेर महासंघका १ नम्बर प्रदेश समितिका सदस्य बिष्णु सुब्बा, महासंघ झापा शाखाका सदस्य चिरञ्जीवि घिमिरे सम्मलित टोलीले ती सामाग्रीहरु हस्तान्तरण गरे । आज हस्तान्तरण गरिएको सामाग्रीमा माक्स,सेनेटाइजर,पन्जा तथा अन्य पोषण रहेका छन् ।