दमक/झापाको दमक नगरपालिका वडा नं. ७ स्थित नमूना बस्तीमा जनसहभागितामा बहुउदेश्यीय खेल भवन निर्माण गरिने भएको छ ।
कूल १ करोड ६८ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको सो खेल भवनमा प्रदेश सरकार र स्थानीय सरकारका अतिरिक्त खेलप्रेमी दाताहरुको सहयोग रहनेछ ।
व्याटमिन्टन र भलिवल खेललाई लक्षित गरि सो भवन निर्माण गरिने जनाइएको छ । आज सोमबार औपचारिक कार्यक्रम गरी भवन निर्माणका लागि जनसहभागिता वापतको स्वैच्छि सहयोग रकम संकलन गर्न शुरु गरिएको छ । भवन निर्माण समितिका अध्यक्ष टंक बस्नेतले १ लाख १ हजार १ रुपयाँ, भूतपूर्व भारतीय सेना धनजित राईले ५१ हजार ५ सय ५५ रुपयाँ, सशस्त्र प्रहरीका अवकाश प्राप्त वरिष्ठ उपरिक्षक भरतबाबु कार्कीले ५१ हजार, वडा नं. ७ का वडा सदस्य श्याम कार्कीले ५० हजार, व्यवसायी तथा दमक उद्योग बाणिज्य संघका उपाध्यक्ष राजकुमार योङ्याले ५१ हजार भवन निर्माण सहयोगार्थ उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन । ३ वटा खेल एक साथ खेल्न मिल्ने गरि बनाइने भवनले सुकुम्बासीहरुका लागि राखिएको दमक नमूना वस्तीको विकासमा समेत टेवा पुग्ने सो वडाका वडा सदस्य श्याम कार्कीले बताउनु भयो । खेल भवनका लागि प्रदेश र स्थानीय सरकारको सहयोग समेत लिएर ४ महिना भित्र सक्ने गरी काम गरिने दमक नगर व्याटमिन्टन खेल समितिकी अध्यक्ष दिलु लिम्बुले बताउनु भयो ।
