दमक/ नेकपा एमाले झापाको आसन्न १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पुस २३ र २४ गते हुने १० औं झापा जिल्ला अधिवेशनको पूर्व तयारी पुरा भएको हो । नेकपा एमाले झापा जिल्ला कार्यालय सचिव शिव ढुंगेलले बिर्तामोडस्थित हिमाल सागर रिसोर्टमा अधिवेशनमा जिल्लाका कूल ९१५ जना प्रतिनिधि सहभागी हुने जानकारी दिए । अधिवेशनमा खुलासभा नहुने पनि एमालेले जनाएको छ ।
मञ्च व्यवस्थापन, प्रतिनिधिहरुलाई दिइने सामग्री, राजनीतिक तथा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनको तयारी समेत पुरा भइसकेको जनाइएको छ ।
अधिवेशनको अध्यक्ष मण्डलमा पार्टीका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेल रहेका छन । १९ गते सम्पन्न जिल्ला कमिटीको बैठकले उनलाई संयोजकको जिम्मेवारी प्रदान गरेको थियो । अध्यक्ष मण्डलको सदस्यहरुमा जिल्लास्थित सबै केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्ष, सचिव र प्रदेश सदस्य खगेन्द्र नेपाल रहेका छन् । बैठकले बहस नोट कमिटी, माइन्यूट लेखनका लागि समेत जिम्मेवारी तोकेको छ ।
एमाले झापाको जिल्ला कमिटी अध्यक्षमा संविधान सभा सदस्य एवं नेता दिपक कार्कीको सम्भावना प्रवल रहेको पार्टी वृत्तमा चर्चा छ । झापाको तत्कालिन निर्वाचन क्षेत्र नं ६ बाट दुई पटक सम्म निर्वाचन जितेर पार्टीको साखलाई उचो बनाएका कार्कीले पाएको जनमतलाई पार्टी अधिवेशनले अनुमोदन गर्दै नेतृत्वमा स्थापित गराउने दाबी कार्यकर्ता पक्तिंबाट भइरहेको छ ।