विराटनगर/ कोशी अस्पताल विराटनगरलाई लुथरन सामुदायिक कल्याण समाज रंगेलीले भेन्टिलेटरसहित ४२ लाख ७४ हजार १०४ रुपैयाँ बरबरको स्वास्थ्य सामाग्री निशुल्क प्रदान गरेको छ । कोभिड १९ को नयाँ भेरियन्ट अमिक्रोन भाइरस फैलिरहेको कारण अस्पतालमा खडकिएको अभावलाई परिपूर्ति गर्न ति सामग्री प्रदान गरिएको जनाइएको छ ।
पूर्व रक्षा मन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा डा. रिजालले कोशी अस्पतालका निमित्त सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादवलाई ति सामाग्री हस्तान्तरण गरे । कार्यक्रममा पूर्वमन्त्री रिजालले धर्म र सम्प्रदाय भन्दामाथि उठेर लुथरनले गरेको यो मानविय कार्य उदाहरणीय रहेको बताए । यसअघि पनि जोखिममा रहेका मानिसहरुलाई लुथरन सामुदायिक कल्याण समाजले गरेको मानविय सहयोगको प्रशंसा गर्दै रिजालले कोशी अस्पताललाई गरेको सहयोगको लागि धन्यावाद दिए ।
मोरङको क्षेत्र नम्बर २, ५ र झापा जिल्लाको तल्लो क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायमा काम गरिरहेको लुथरनले अझ राम्रो र फराकिलो गर्दै आफ्ना कार्यक्रम लिएर जाओस भन्ने शुभकामना समेत रिजालले दिए ।
कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट लक्ष्मी नारायण यादवले कोभिड १९ को महामारीको अहिलेको अवस्थामा बालबालिकालाई अति आवश्यक पर्ने बच्चाको भेन्टिलेटर सहितको सामाग्री दिएर आम सर्बसाधरणको उपचारमा सहजता प्रदान गरिदिनु भएकोमा लुथरन सामुदायिक कल्याण समाजलाई कृतज्ञता व्यक्त गरे । उनले ग्रामीण क्षेत्रमा रहेर पिछडीएको समाजमा काम गर्ने संस्थाले त्यहाका स्थायिनवासी समेत लाभान्वित हुन भन्ने उद्येश्य राखेर स्वास्थ्य सामाग्री प्रदान गरेकामा आफुलाई समेत खुसी लागेको बताए ।
लुथरनले गरिरहेको कामका बारेमा संस्थाका सिइओ सुमन राई र अस्मिता चौधरीले बर्णन गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष जोसेफ सोरेनले संस्थामार्फत कोभिडको समयमा र अन्य विपतमा समुदायमा काम गर्न पाउदा आफुहरुलाई निकै गर्व लागेको बताए । संस्थाले कार्यरत रहेका गाउँ पालिका र नगरपालिकाका स्वास्थ्य संस्थाहरुलाई निशुल्क रुपमा यस अघि पनि स्वास्थ्य सामाग्री वितरण गरेको जानकारी दिए ।
जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डलले विपत र जोखिमका बेला लुथरनले जनताको साथी भएर काम गरिरेहेको बताए । उनले अन्य समुदायमा समेत काम गर्न आग्रह गरे ।
