दमक/नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले अहिले सम्मको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता जस्ता राजनीतिक उपलब्धीहरुमाथिको प्रहार कांग्रेसका लागि सहय नभएको बताएका छन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको दुइतिहाई बहुमतलाई समेत अवमूल्यन गर्दै ६ महिना भित्र दुई पटक सम्म संसद विघटन गरेर महत्वपूर्ण राजनीतिक उपलब्धीहरुमाथि प्रहारको संकेत गरेको स्मरण गर्दै उनले कुनैपनि बहानामा कसैलाई त्यस किसिमको अप्रिय कदम चाल्ने छुट नभएको पनि उदघोष गरेका छन ।
गृह जिल्ला पाँचथरबाट काठमाडौं फर्किने सिलसिलामा आज शनिबार झापाको दमक आइपुगेक नेता आङदेम्बेले दमकस्थित पार्टी कार्यालयमा कार्यकर्ताहरुसंगको संक्षिप्त भेटघाटमा त्यस्तो बताएका हुन । उनले बशंवादी र पुरातनवादी जडशुत्रबादी सोचको अन्त्य अझै पनि भइनसेको आभास भइरहेको प्रति सचेत भएर पार्टीले कदम चाल्ने पनि बताए ।
कांग्रेस पार्टीको नेतृत्वलाई समेत कुनै पनि बहानामा जिम्मेवारीबाट पन्छिने छुट नभएको बताए । १४ औ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको लामो खारिएको अनुभव र युवा पुस्ताको सक्रियताले पार्टीलाई नयाँ उर्जा दिने पनि उहाँको बिश्वास छ ।
उनले एमालेले लगातार लामो समयदेखि संसद अवरुद्ध गरेर संसदीय मूल्य मान्यताको उपहास गर्दै संसदलाई बन्धक बनाएको पनि आरोप लगाए । पार्टी भित्रको आन्तरिक विषयमा केन्द्रित हुँदै नेता आङदेम्बेले लोकतान्त्रिक मूल्य मान्यता अनुरुप १४ औ महाधिवेशन सम्पन्न गरेको दाबी गरे । उनले काङ्ग्रेस नेतृत्व चयनका क्रममा अपनाइएको लोकतान्त्रिक प्रक्रियाले आज नेपाली राजनीतिमा नयाँ उदाहरण प्रस्तुत गरेको पनि बताए । आन्तरिक निर्वाचनका क्रममा भएका तितो मिठो अनुभवलाई सबै तह तप्काका नेता, कार्यकर्ताले बिर्सिएर नयाँ सोच , बिचारका साथ सक्रिय हुन नसके कुनै पनि नयाँ उपलब्धि हात पार्न नसकिने तर्फ सचेत हुन कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।