दमक/ नेकपा एमाले झापाको २३ पुषमा हुने जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा पार्टी वृत्तमा अधिवेशनको सरगर्मी बढेको छ । झापामा जिल्लास्थित सबै पालिकाहरुबाट चयन हुने प्रतिनिधि छनौटमा नेता, कार्यकर्ताहरु जुटेका छन ।
कतिपय पालिका अन्तर्गतका वडाहरुबाट चयन हुने प्रतिनिधिका लागि दाबेदारहरुको संख्या उच्च भएपछि कतिपय पालिकाहरुमा मतदानको अवस्था सिर्जना भएको बताइएको छ भने केही पालिकाका वडाहरुमा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन । जस अनुसार कमल ६ बाट जिल्ला अधिवेशनको लागि प्रतिनिधीमा दामोदर गुरागाइँ, रघुनाथ मिश्र , गंगादेवी राई, याम कुमारी पौडेल र खुमनाथ निरौला सर्बसम्मत छनौट भएका सो पार्टीले जनाएको छ । त्यसैगरी कमल ३ मा हिम दाहाल, एंगल गुरुङ र चक्र गुरुङ जिल्ला प्रतिनिधि सर्वसम्मत भइसकेकाले अन्य वडाहरुमा पनि अन्तिम कसरत जारी रहेको जनाइएको छ ।
अध्यक्षमा जन अनुमोदित नेता कार्कीको सम्भावना
यसैबीच नेकपा एमाले झापाको जिल्ला कमिटी अध्यक्षका लागि यस पटक गौरादह निवासी नेता दिपक कार्कीको सम्भावना बलियो रहेको बताइएको छ । कार्की यस अघि समेत पार्टीको जिल्ला अध्यक्षमा दाबेदार थिए । सर्वसम्मत नेतृत्व चयनको प्रयास हुँदा सो पदमा यस अघि चिन्तन पाठकलाई जिम्मेवारी दिइएको र कार्कीलाई उपाध्यक्ष बनाइएको थियो ।
२०६४ को संविधान सभा निर्वाचनमा झापाको तत्कालिन क्षेत्र नं ६ मा नेकपा एमालेको तर्फबाट निर्वाचित भएर जनता सामु प्रत्यक्ष रुपमा अनुमोदित बनेका कार्कीलाई यसपटक जिल्ला अध्यक्षका लागि निर्विवाद प्रस्ताव गरिनुपर्ने आवाज एमाले वृत्तमा छ । जिल्ला अधिवेशनमा उनले आफनो दाबेदारी स्वभाविक रहने भन्दै कार्यकर्ताहरुमाझ लबिङ गरिरहेका बताइएको छ । उनी २०७० सालको संविधान सभा निर्वाचनमा समेत सो क्षेत्रबाट निर्वाचित भएका थिए । यस अघि पार्टीको जिल्ला अध्यक्षमा बलियो दाबेदारी पेश गरेका कार्कीलाई पाखा लगाउँदै पाठक जिल्ला कमिटी अध्यक्ष बनेका थिए । कार्कीको कार्यकालमा झापामा पार्टीप्रति कार्यकर्ताहरुको आकर्षण बढेको र बिकास निर्माण तथा जनसरोकारका मुद्धाहरुलाई नजिकबाट बुझने समाधान गर्ने छबि बनाएका नेता कार्कीलाई पार्टीको जिल्ला अधिवेशनले न्याय गर्ला कि नगर्ला भन्ने आम कार्यकर्ताहरुमा जिज्ञासा छ ।

 

Facebook Comments Box