दमक/ नेपाली कांग्रेस दमकले १४ औं महाधिवेशनमा उपल्लो तहमा निर्वाचित नगरस्थित नेताहरुलाई बिहिबार सामुहिक रुपमा बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।
पार्टीका नगर सभापति प्रकाश प्रसाइँको सभापतित्व र नवनिर्वाचित केन्द्रीय सदस्य सांसद महेन्द्रकुमारी लिम्बुको प्रमुख आतिथ्यमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश समिति सदस्यमा निर्वाचित चन्द्रा खडका भट्टराई, भुमिराज राई, जिल्ला उपसभापतिमा निर्वाचित शेरबहादुर भट्टराई, महाधिवेशन प्रतिनिधिद्धय सुरेश सुब्बा र डा. नेत्र बुढाथोकी, जिल्ला सदस्यहरु, क्षेत्र नं ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्र खका सभापति रवि केसी न्यौपाने लगायत दर्जन बढी नेताहरुहरुलाई सामुहिक रुपमा बधाई तथा शुभकामना दिइएको पार्टीका नगर सचिव रामचन्द्र अधिकारीले जानकारी दिए ।
सो अवसरमा प्रमुख अतिथी समेत रहेकी नेतृ लिम्बु कांग्रेसको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने दमकको पहिलो नेतृ भएको जनाइएको थियो । पार्टीका नगर उपसभापति प्रेम भट्टराईले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा महाधिवेशन प्रतिनिधि एवं नेता सुरेश सुब्बा, निवनिर्वाचित जिल्ला उपसभापति भट्टराई, क्षेत्रीय सभापति भण्डारी लगायतले मन्तव्य राख्दै अधिवेशन सकिएसंगै सबै तहमा पार्टीको नयाँ नेतृत्व चयन भइसकेकाले अब कांग्रेस एक ढिक्का भएर सबै तहका आगामी निर्वाचनहरुमा विजयीको झण्डा फहराउने प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन पार्टीका नगर सचिव दिपेश दाहालले गरेका थिए ।

