दमक/नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति झापाले नेपाली कांग्रेसको भर्खरै सम्पन्न १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित यस क्षेत्रकी नेतृ एवं संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बु र प्रदेश क्षेत्र कका उपसभापति आत्माराम राजवंशीलाई सम्मान गरेको छ ।
लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा सहभागी हुँदै संविधान सभा र संघीय संसदमा समेत प्रतिनिधित्व गर्नुका साथै पार्टीको समेत केन्द्रीय नेतृत्वमा निर्वाचित भएर यस क्षेत्रको गरिमा उचो बनाएको भन्दै सांसद लिम्बुलाई सम्मान गरिएको हो । सांसद लिम्बु नेपाली कांग्रेसमा सक्रिय हुँदै लोकतान्त्रिक र न्यायिक आन्दोलनमा स्थापित नेतृ हुन । कांग्रेसको तर्फबाट संविधान सभा सदस्य र संघीय संसद सदस्यमा समेत प्रतिनिधित्व गर्दै आएकी नेतृ लिम्बु यस क्षेत्रमा २०६४ सालको संविधान सभा निर्वाचनमा समेत प्रत्यासीका रुपमा थिइन ।
त्यसैगरी पत्रकारितामा क्रियाशील रहँदै लोकतान्त्रिक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको सदस्य रहेका राजवंशी पार्टीको प्रदेश सभा निर्वाचन क्षेत्र कको उपसभापतिमा निर्वाचित भएर जिम्मेवारी प्राप्त गर्न सफल भएको भन्दै उनलाई सम्मान गरिएको हो । दुवै जनालाई युनियनका क्षेत्रीय समिति अध्यक्ष बिष्णु सुब्बा, नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समिति कोषाध्यक्ष विमल लामिछाने र झापाका पुराना पत्रकार गञ्जबहादुर दाहालले संयुक्त रुपमा सम्मान पत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा सांसद लिम्बुले आफू जुनसुकै तह तप्कामा रहँदा पनि यस क्षेत्रका सबै आस्था र विचार राख्ने नागरिकहरुलाई समान रुपमा हेर्ने गरेको बताउँदै यहाँका समस्याहरुलाई राष्ट्रियस्तरबाट पहल गरेर भएपनि समाधानका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाइन ।




