निष्कर्ष न्यूज विश्लेषण
दमक/ नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन कांग्रेस झापाका लागि फलदायी बनेको छ । महाधिवेशनले २७ मसिंरमा १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको सम्पूर्ण मत परिणाम एक साता भन्दा बढी समय लगाएर बाहिर आएपनि झापाली कांग्रेसजनले यो परिणामप्रति सन्तोष जनाउन सक्ने अवस्था देखिन्छ । हुन न कांग्रेसको केन्द्रीय राजनीतिमा मात्रै नभएर व्यवस्था परिवर्तनको निर्णायक भुमिकामा झापाबाट प्रतिनिधित्व गर्ने एकाध कांग्रेस नेताहरु नरहेका होइनन तर यो महाधिवेशनमा कांग्रेस झापाले महत्वपूर्ण पदमा नेताहरुलाई पुरयाउन सफल भएको छ । जसले कांग्रेस झापाको भविष्य केही उज्यालो बाटोतर्फ डोहोरिन सक्ने आशा जगाएको छ ।

सिटौलालाई चेतावनी कि अपमान ?
कांग्रेसको केन्द्रीय महामन्त्रीसहित केन्द्रीय समितिमा कूल पाँच जना झापाली नेताहरु पुग्न सफल भएका छन । यस अघि महामन्त्री बनेका नेता कृष्ण प्रसाद सिटौला पार्टी महाधिवेशनबाट निर्वाचित भएका थिएनन । उनी मनोनित महामन्त्रीका रुपमा भएपनि मुलुकको संविधान मस्यौदा गर्ने, सशस्त्र द्धन्द्धको निरुपण गर्न र संघीयता, गणतन्त्र जस्ता राजनीतिक उपलब्धीहरुमा उनको योगदानको अवमुल्यन भएको अनुभूति हुने गरी झापाली कांग्रेस वृत्तमा आवाजहरु यो महाधिवेशनमा गुञ्जिएका छन ।


विशेष गरी नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा र सिटौलालाई जोडेर सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा कांग्रेसीहरुले गरेको विश्लेषणले कांग्रेसको १४ औं महाधिवेशनको नारा उत्साह, एकता र रुपान्तरण नारामा सिमित भएको आंकलन गर्न त्यति अप्ठयारो देखिन्न । सिटौला विरुद्ध सामाजिक सञ्जालमा शर्मामाथि अन्याय गर्न खोजेको चर्को आरोप लागेको देखियो । यसको प्रतिवाद सिटौलाले औपचारिक रुपमा त गरेनन तर उनका समर्थक र शुभेच्छुकहरुले राष्ट्रिय राजनीति तथा मुलुकको परिवर्तनमा उनको योगदान झल्किने सामग्रीहरु छयाछयाप्ती रुपमा ल्याएर सांकेतिक प्रतिवाद गरे । दुई नेताबीचको सम्बन्धमा रहेको कटुताका कारणनै महामन्त्री शर्माको विचार समुहले उनको स्वागत तथा सम्मानार्थ विर्तामोडमा आयोजना गरेको कार्यक्रममा सिटौला पक्षधर नेताहरुको अनुपस्थित रहेको चर्चा पनि बाहिरियो ।

प्रदेशदेखि केन्द्र सम्म नेतृत्व स्थापित
कांग्रेसको १४ औं महाधिवेशनमा एउटा यस्तो संयोग पनि परेको छ कि महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएर स्थापित हुँदै गर्दा प्रदेश नं १ मा कांग्रेसको नेतृत्व गर्ने अवसर कांग्रेस झापाका निवर्तमान सभापति उद्धव थापाले पाएका छन । संयोग शर्मा र थापा दुवै एकताका कांग्रेस झापाको सभापतिका लागि लडेका थिए । थापा अहिले प्रदेश सभापति बने लगत्तै शर्मा महामन्त्री बने । थापाले राष्ट्रिय राजनीतिको एउटा महत्वपूर्ण पात्र युवा नेता गुरुराज घिमिरेलाई २ मतान्तरले हराएर प्रदेश एकको सभापतिमा निर्वाचित भए । प्रदेश एकको कार्यसमितिमा झापाबाट सभापति थापासहित करिब एक दर्जन नेताहरुले स्थान ओगटेका छन । कांग्रेसको प्रदेश समितिमा झापाको क्षेत्र नं ५ बाट मात्रै ६ जना नेताहरु निर्वाचित भए । हुकुमसिंह राई, प्रकाश कार्की, रेगिना भट्टराई, भुमिराज राई र फुलवती राजवंशी क्षेत्र नं ५ बाट मात्रै प्रदेश सदस्यमा निर्वाचित भएर प्रदेश राजनीतिमा पहुँच स्थापित गर्न सफल भएका हुन ।

केन्द्रीय सदस्यमा सांसददेखि पूर्व मन्त्री सम्म
यसैबीच झापाका पाका कांग्रेस नेता केशवकुमार बुढाथोकी केन्द्रीय सदस्यमा विजयी भएका छन् । यस अघि मनोनित केन्द्रिय सदस्य तथा पूर्व मन्त्री समेत रहेका नेता बुढाथोकी खस आर्य कोटामा सर्वाधिक मत ल्याएर विजयी भएका हुन ।उनले दुई हजार ५४ मत ल्याएर केन्द्रीय समिति सदस्यका रुपमा आफूलाई दर्ज गराउन सफल भएका हुन ।


झापा क्षेत्र नम्बर २ को अर्जुनधारा नगरपालिका घर भएका बुढाथोकीले २०६४ मा झापाको क्षेत्र नं ५ बाट र २०७० मा क्षेत्र नं ४ बाट संविधान सभा सदस्यका रुपमा निर्वाचित भएका थिए । उनलाई झापामा कांग्रेस भित्रको बाघका रुपमा चिनिन्छ । बुढाथोकी सक्रिय राजनीतिबाट अलग हुने कतिपय कार्यकर्ताहरुको अनुमानका बीच केन्द्रीय सदस्यमा निर्वाचित भएपछि कांग्रेस झापाको वृत्तमा हलचल पैदा भएको छ ।
त्यसैगरी झापाको माइपश्चीम क्षेत्रमै पहिलो पटक नेपाली कांग्रेसले केन्द्रीय सदस्यका रुपमा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुलाई पाएको छ । कांग्रेसको १४ औं महाधिवेशनबाट उनको राजनीतिक यात्राले पार्टीको केन्द्रीय समितिमा प्रवेश गरेको हो । दमक निवासी सांसद लिम्बु प्रदेश एकको भुगोलबाट केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा चुनावी मैदानमा थिइन । निकटतम प्रतिस्पर्धीसंग ५ सय भन्दा बढी मतान्तरले विजयी भएकी नेतृ लिम्बुले कूल २२७४ मत प्राप्त गर्न सफल भएकी जनाइएको छ । उनीसंगको प्रतिस्पर्धामा ताप्लेजुङकी लिला बोखिम र झापाकै गोमा भट्टराई रहेका थिए ।

को हुन महेन्द्रकुमारी ?
दमकलाई कर्मथलो बनाएकी लिम्बु करिब अढाई दशक अघिदेखि निरन्तर राजनीतिक यात्रामा छिन । प्रजातन्त्रका सेनानी स्वर्गीय मुगाधन राई र कृष्णकुमारीको कोखबाट पुख्र्यौली थलो भोजपुरमा जन्मिएकी उनले आफनो राजनीतिक तथा सामाजिक सक्रियता प्रदेश एकभरी नै कायम राखेकी छिन ।


पार्टीको महासमिति सदस्य तथा नेपाल महिला संघकी केन्द्रिय सदस्य समेत भईसकेकी सांसद लिम्बु दुई पटक सम्म समानुपातिक कोटामा पार्टीको तर्फबाट संघीय संसद सदस्य हुने भाग्यमानी नेतृ हुन । त्यसो त उनले २०६४ को संविधान सभा निर्वाचनमा पार्टीका तर्फबाट झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग पनि चुनाव लडेकी थिइन । कांग्रेसले एमाले अध्यक्ष ओलीसंगको चुनावी प्रतिस्पर्धामा लिम्बुलाई उतारेपछि नै राजनीतिमा उनको उचाई बढेको हो । पार्टीमा उनको निरन्तरता र सक्रियताको मुल्याङकन गरेर समानुपातिक तर्फ महिला कोटामा उनलाई सांसद बनाएपछि उनको राजनीतिक भविष्य थप उज्यालो बनेको हो ।
प्रसाइँ र ढकाल विजयी
त्यसैगरी केन्द्रीय सदस्यमा झापाली नेतृद्धय सरिता प्रसाइँ र सुशीला ढकाल पनि निर्वाचित भएका छन । नेतृ प्रसाइँ राष्ट्रिय सभा सदस्य तथा निवर्तमान केन्द्रीय सदस्य समेत हुन । उनी यस अघि कृषि राज्य मन्त्री समेत भएकी थिइन । नेतृ प्रसाइँले २०९६ मत ल्याएर छैठौं स्थानमा जित हासिल गरेकी हुन । केन्द्रीय सदस्यमा निर्वाचित नेतृ ढकालले १८०४ मत प्राप्त गर्न सफल भएकी छिन । ढकाल नेपाल महिला संघ झापाकी सभापति समेत हुन ।

Facebook Comments Box