दमक/ नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको नेतृत्व निर्वाचित भएको छ । कमिटीको अध्यक्षमा फराकिलो मतान्तरसहित हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । मिक्सोले १६९ मत पाएका छन भने अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत ल्याए । सो पदमा ७ मत बदर भएको छ ।
तीनजना उपाध्यक्षका लागि भएको निर्वाचनमा मणिकुमार साम्पाङ (१११ ), देवान चाम्लिङ (१२०) र शिवकुमार डाँगी (११३) विजयी भएका छन् । सचिव पदमा गणेश उप्रेती (सुशील)ले १४८ मत ल्याएर विजयी बने । उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए ।
यस्तै ३ जना सहसचिवमा कुमारी राई (११४), सागर किराँती (७३) र ऋषिराम ढुंगाना (९५) विजयी भएका छन् । कोषाध्यक्षमा ९३ मत ल्याएर साथ दमकका रेवतराज पुरी (गगन) विजयी भएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरेकी जनाइएको छ ।
९ जना पदाधिकारीका लागि भएको निर्वाचनमा २९ जनाको उम्मेदवारी परेको थियो । निर्वाचनमा २४० जनाले मतदान गरेका थिए । मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । गत मङ्सिर २५ र २६ गते माओवादी केन्द्रले प्रदेश अधिवेशन गरेको थियो । जसबाट २५९ जना प्रदेश कार्यसमितिका लागि निर्वाचित गरेको थियो । निर्वाचितहरु मध्येबाटै पदाधिकारी चयन गर्नुपर्ने व्यवस्था भएपनि पदीय बाँडफाँड नमिलेका कारण निर्वाचनमा जानु परेको थियो ।
