काठमाडौं/ कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्य खुल्लातर्फको मत गणना सुरु भएको छ । खुल्लातर्फ ३५ जनाको मतगणना आज बिहान साढे १० बजेदेखि सुरु भएको पार्टीको निर्वाचन समितिले जनाएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको छ । खुलातर्फबाट ३५ जना केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार रहेका छन् ।

सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि सोमवार मतदान भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने विधानको व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, हरेक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी /जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्य चयन हुने व्यवस्था छ ।  यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।

Facebook Comments Box