दमक/ दमक २ का ५४ बर्षिय देवीचरण पराजुलीका पाँच भाई छोरा मध्येका काइँला छोरा प्रकाश पराजुलीको बुधबार दमकको व्यस्त बजारमा निर्ममतापूर्वक हत्या भयो । सिंगो मानव जगतको आङ सिरङग हुने गरी निर्ममतापूर्वक भएको छोराको हत्याले जिवनको उत्तराद्र्धमा प्रवेश गरेका देवीचरणको मन अमिलो बनाइदिएको छ ।

देवीचरणले बुधबार राती साढे ७ बजेतिर आफनो छोरा मारिएको खबर सुनेका हुन । म बेलुका घरमै थिएँ घटना यस्तो भयो भनेर त्यहाँ पसलतिरका साथीभाईहरु मलाई लिन जानु भयो – ५४ बर्षिय देवीचरणले घटना थाहा पाउँदाको अवस्थाबारे विस्तार लगाउँदै भने । उनले थपे –पाँच भाई मध्ये काइँलो छोरो हो प्रकाश ।
गाउँघरमा कसैसंग ननिको थिएन । गाउँमा कोही दुश्मन भए जस्तो लाग्दैन यता बजारतिरको कुरो मलाई थाहा भएन । अपराधीलाई पक्रेको छ अरे त्यसलाई आजिवन जेल हालियोस ।
एसएलसी सम्म अध्ययन गरेका प्रकाश गाउँमा सबैसम्म मिलिजुली व्यवहार गर्ने, ठुलालाई आदर र सानालाई माया गर्ने संस्कारी स्वभावका थिए । पसलमा दैनिक काम गर्न आउने जाने गर्थे उनी । आफनो कमाई पकेट खर्च गरेर घर खर्च चलाउन पनि सहयोग गर्थे ।
प्रहरीले प्रकाशको हत्या स्विकार गरेका दमक १ का २० बर्षिय अर्जुन लिम्बुलाई प्रहरीले घटना भएको १२ घण्टा नबित्दै पक्राउ गर्न सफल भयो । बिहिबारनै इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाउँदा लिम्बुले हत्या स्विकार गरेपछि र घटनास्थलमा भेटिएका दशी प्रमाणका आधारमा कानुनी कारवाही अघि बढाइसकिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले हत्या आरोपी लिम्बुलाई सार्वजनिक गर्दै अपराधको कारण करिब २/३ महिना अघिदेखिको रिसइवी भएको बताएको छ । स्रोतका अनुसार पराजुली र लिम्बुबीच एक युवतीको बिषयलाई लिएर यस अघि झगडा भएको थियो । सो समयमा पराजुलीले आफूमाथि गरेको कुटपिटको बदला लिन आफूले सो अपराध गरेको लिम्बुले प्रहरी समक्ष स्विकार गरिसकेका बताइएको छ ।

Facebook Comments Box