दमक/ कांग्रेसका युवा नेता प्रदीप पौडेल महामन्त्री पदको उम्मेदवारका रुपमा चुनावमा होमिएका छन । उनलाई नेता कृष्ण प्रसाद सिटौलाले आफ्नो विश्वासपात्रका रुपमा अघि बढाएका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत सिटौलाले पौडेललाई युवाहरुको प्रतिनिधित्व गर्दै पार्टीमा अघि बढाउने घोषणा गरे । यसअघि सिटौलाको विश्वासपात्रको रुपमा रहेका गगन थापाले केही अघिमात्रै सिटौलाको साथ छाडेका थिए । गगनले साथ छाडेसँगै सिटौलाले प्रदीपलाई आफ्नो समूहबाट पार्टीमा अघि बढाउने घोषणा गरेका हुन् ।
‘अभाव र संकटमा जो मेरो साथमा छ, अहिलेसम्म र भोलिसम्म रहन्छ भन्ने मेरो विश्वास हो उहाँहरुलाई स्थापित गर्ने मेरो लक्ष्य हो’, सिटौलाले भने, ‘आजको दिनमा मैले युवाहरुको नेतृत्व गर्ने जिम्मेवारी प्रदीप पौडेललाई दिएको छु ।’ उनले आफूले युवाहरुलाई पार्टीमा स्थापित गर्न चाहेको पनि बताए । सिटौलाले आफ्नो समूहबाट पौडेललाई महामन्त्रीको उम्मेदवारका रुपमा अघि सारेका छन् ।


उनले उमेरले आफू पाको भइसकेको भन्दै अब छोराछोरी पुस्ताको पार्टीलाई अघि बढाउने बेला आएको पनि बताए । उनले आफू काँग्रेसभित्रको एकताको पक्षमा रहेको बताउँदै आफू जहाँ रह्यो पार्टी पनि त्यही ठाउँमा रहने जिकिर गरे । पार्टीलाई निजी स्वार्थ पूरा गर्ने भाँडो बनाउन नहुनेप्रति जोड दिँदै सिटौलाले पार्टी जनतासँग जोडिनुपर्ने बताए । ‘नीजि स्वार्थ पुरा गर्ने अनेक पाटाहरु छन् । पार्टीमा चाहिँ जनताको पक्षमा काम गर्नुपर्छ’, सिटौलाले भने, ‘नेताहरु आफू केन्द्रीत भए भने देश बर्बादीको बाटोतिर जान सक्छ ।’
सिटौलाले देशभर आफ्नो समूहले उठाएको विचारप्रति विश्वास राख्नेहरू बढ्दै गएको भन्दै आफू सँधै राजनीतिलाई इमानदारिताको बाटोतर्फ हिँडाउनुपर्छ भन्ने पक्षमा रहेको बताए । यो सन्देश र विचार देशभर फैलिनु खुसीको कुरा भएको पनि सिटौलाको भनाइ छ । ‘महाधिवेशनबाट पार्टीलाई बलियो बनाउनुपर्छ । लोकतन्त्रमाथि आउन सक्ने खतरामाथि हामीले लड्न सक्ने पार्टी बनाउनुपर्छ’, उनले भने, ‘ आगामी चुनाव लगायत जेजति चुनौतीहरु छन्, त्यसको सामनाका लागि बृहत्तर एकताको खाँचो छ । आम जनताको घरमा खुसी सञ्चार गर्नेगरी काँग्रेसलाई जोड्नुपर्छ । मेरा मुल भूमिका यसतर्फ केन्द्रीत रहनेछ ।’

 

 

Facebook Comments Box