दमक/ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने लर्को लागेको छ । झापाको क्षेत्र नं ५ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर केन्द्रीय सदस्यमा उम्मेदवारी दिने योग्यता बनाएका मध्ये चार जनाले आफनो उम्मेदवारीको स्वघोषणा गरेका छन ।
पछिल्लो समय यस क्षेत्रमा पार्टीको आन्तरिक निर्वाचनमा साझा उम्मेदवार भएको दाबी गर्दै दोश्रो कार्यकालका लागि मधेसी कोटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका दमकका व्यवसायी तथा सामाजिक व्यक्तित्व सत्यनारायण चौधरी मधेसी कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएका छन ।

झापा क्षेत्र नं ५ बाट लोकप्रिय मत पाएर केन्द्रिय महाधिवेशन प्रतिनिधि बनेका चौधरीले आफनो राजनीतिलाई अगाडी बढाउने सिलसिलामा यस पटक केन्द्रीय सदस्यको उम्मेदवार बन्ने निधो गरेको बताए । उनले कांग्रेसका हरेक नेता कार्यकर्ताहरुको मन भित्र बस्न सकेको महसुस गरेर आफू केन्द्रीय सदस्यमा उम्मेदवार बनेको बताए । मैंले सबैसंग सरसल्लाह र सुझाव लिएर नै उम्मेदवारको योजना बनाएको हुँ । मलाई विश्वास छ सबैले साथ सहयोग गर्नुहुनेछ । कांग्रेसमा आफू यो वा त्यो बहानामा जिम्मेवारीबाट पन्छिने किसिमको कार्यकर्ता नभएको बताउँदै चौधरीले भने–पार्टीलाई आवश्यक परेको बेला जहाँ, जस्तो पनि सहयोग गरेकै छु । मलाई माथिल्लो तहबाट पनि उम्मेदवारी दिने सुझाव आएको छ म अब कांग्रेस राजनीतिको यात्रामा रोकिन चाहन्न । प्रदेश अधिवेशन सकिए लगत्तै आफू काठमाडौं गएर महाधिवेशनको लागि देश दौडाहामा निस्किने उनले बताए । पार्टीले सञ्चालन गर्ने हरेक काम, कार्यक्रम होस वा भौतिक पूर्वाधार निर्माणको योजनामा मैंले सहयोग गर्दै आएको छु । आफू कांग्रेसको राजनीतिमा आएर कसैको पनि भाग खोस्ने उदेश्यमा नलागेको र पार्टीबाट कुनै नाजायज फाइदा उठाउने उद्धेश्य नरहेको भन्दै चौधरीले भने–जति सक्छु यही समाज, देश र पार्टीलाई सहयोग गर्छु ।
यस अघि नेविसंघकी नेतृ तुलसा पन्तले महिला कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पत्रकार सम्मेलन गरेरनै औपचारिक रुपमा घोषणा गरेकी थिइन । त्यस्तै नेविसंघका पूर्व उपाध्यक्ष एवं नेपाल तरुण दलका पूर्व केन्द्रिय सदस्य युवा नेता मेदनी प्रसाद सिटौलाले दमकमा पहिलो पटक केन्द्रीय सदस्यमा उठने सार्वजनिक गरेका थिए ।
संघीय संसद सदस्य एवं नेतृ महेन्द्रकुमारी लिम्बुले पनि महिला कोटामा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने सार्वजनिक गरिसकेकी छिन । कांग्रेसका स्थानीय अर्का नेता एवं चौथो पटक महाधिवेशन प्रतिनिधि निर्वाचित भएर महासमिति सदस्य समेत बनिसकेका सुरेश सुब्बा र २०७४ को संसदीय चुनावमा झापा क्षेत्र नं ५ मा उम्मेदवारी दिएका डा. खगेन्द्र पाण्डव अधिकारीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिसकेका छन ।