दमक/झापाको दुधेमा जारि दिलमाया स्मृति कप फुटबल अन्तर्गत भोली (बुधबार) देखि सेमिफाइनल चरणका खेलहरु शुरु हुँदैछन । सेमिफाइनल अन्तर्गतको पहिलो खेल शिवसताक्षी १० र ११ बीच खेल हुनेछ ।
मंगलबार (आज) भएको खेलमा जित हासिल गर्दै कनकाई नगरपालिका वडा नम्बर ५ प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको छ । गौरादह ९ लाई हराउँदै कनकाईले सेमीफाइनलको यात्रा तय गरेको हो ।
दिलमाया स्मृतिकपको सुपर ८ अन्तर्गत क्वाटर फाइनलको अन्तिम खेलमा कनकाई ५ सेमी फाइनलमा प्रवेश गरेको आयोजक समितिले जनाएको छ ।
आजको खेल पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो । खेलको दोस्रो हाफको २२ औं मिनेटमा कनकाई ५ को तर्फबाट जर्सी नं. ६ का डिल्लीराम बस्नेतले प्रहार गरेको गोल नै निर्णयाक बनेको थियो । खेलको म्यान आफ दी म्याच विजेता टिमका विकल साउदेन घोषित भए । उनले नगद २ हजार ५ सय प्राप्त गरे ।
प्रतियोगिताको विजेता टिमले २ लाख २५ हजार प्राप्तगर्ने छन् भने उपविजेता टिमले नगद १ लाख २५ हजार प्राप्त गर्ने आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ । सो प्रतियोगिता झापा क्षेत्र नं ४ का सांसद तथा नेकपा एमालेका नेता एलपी साँवा लिम्बुकी ममतामयी माता दिलमायाको स्मृतिमा साँवा परिवारको सौजन्यमा सञ्चालित छ ।

Facebook Comments Box