दमक/ नेपाल बिद्यार्थी संघकी केन्द्रीय उपाध्यक्ष एवं नेतृ तुलसा पन्तले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छिन । झापाको कमल ७ घर भई काठमाडौंमा अध्ययनको सिलसिलामा १६ बर्ष अघिदेखि बिद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय बनेकी नेतृ पन्तले स्व. गिरिजाप्रसाद कोइरालाबाट प्रभावित भएर आफू कांग्रेसको राजनीतिमा होमिएको स्मरण गरिन । दमकमा पार्टीका स्थानीय नेता कार्यकर्ताहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरेर उनले आफनो उम्मेदवारी घोषणा गरेकी हुन ।

स्व. गिरिजाप्रसाद कोइरालाबाट प्रभावित भएर आफू शैक्षिक तथा राजनीतिक आन्दोलनमा होमिएको र जिवनको महत्वपूर्ण समय राजनीतिक क्षेत्रमा नै बितिरहेकाले राजनीतिका माध्यमबाट नै आफू अघि बढन चाहेको बताइन । दमकको हिमालय माबिबाट एसएलसी उत्तिर्ण गरेर उच्च शिक्षाका लागि काठमाडौंको पद्यकन्या क्याम्पसमा भर्ना भएकी नेतृ पन्त त्यहाँ स्ववियुको कार्य समिति सदस्य हुँदै उपसभापति सम्म बनेर बिद्यार्थी हकहितको आन्दोलनमा सहभागी भएकी हुन । उनले सो क्याम्पसमा नेविसंघको इकाई सभापतिको जिम्मेवारी समेत सम्हालिसकेकी छिन । उम्मेदवारी घोषणाका क्रममा नेतृ पन्तले आफू शैक्षिक पृष्ठभुमीबाट राजनीतिमा आएका कारण आफनो पहिलो प्राथमिकता शैक्षिक मुद्धाहरु नै हुने बताइन । उनले भनिन– म बिद्यार्थी आन्दोलनबाट आएकी हुँ शैक्षिक क्षेत्रका समस्याहरुबारे मलाई थोरबहुत अरु भन्दा जानकारी छ त्यसकारण पनि शैक्षिक मुद्धाहरु मेरो पहिलो प्राथमिकतामा हुनेछन ।
उनले झापाबाट कांग्रेस केन्द्रीय नेतृत्वमा पुगेको अवस्थामा आफनो क्षेत्रका समस्याहरु र बिकास निर्माणका मुद्धाहरुलाई पार्टी केन्द्रमा पुरयाएर नेतृत्वको ध्यानाकर्षण गराउन प्रयत्नशील रहने, पार्टीका साथै सबै निकायमा महिला सहभागिता ३३ प्रतिशत अनिवार्य भएकाले यसको व्यवहारिक रुपमानै कार्यान्वयनका लागि आफूले महिला आन्दोलनको नेतृत्व लिन तयार रहेको पनि बताइन । काठमाडौं बसाईका सिलसिलामा बिद्यार्थीहरुको सञ्जाल राष्ट्रिय अन्तराष्ट्रियस्तरमा जोडिएकाले जुनसुकै ठाउँमा कार्यकर्ताहरुलाई परेका समस्याको समाधानमा आफूले पहल गर्न सक्ने उनले दाबी गरिन ।
पत्रकार सम्मेलनमा तिरित प्रेस नोटमा पन्तले पार्टीका विभिन्न तह तप्काका नेता कार्यकर्ताहरुमा इमान्दारिता, नैतिकता र अनुशासनको खडेरी पर्दा पार्टीले ठाउँ ठाउँमा पराजय हुनुपरेको अवस्थालाई मध्यनजर गर्दै पार्टीमा शुद्धिकरण र सुदृढीकरणका लागि पहल गर्ने पनि उल्लेख गरेकी छिन ।
कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको बहस जायज भएपनि यसलाई संयमित र धैर्यतापूर्वक यसलाई अघि बढाउनु पर्ने उनको राय छ ।
अहिले चुनावमा देखिएको गुट उपगुट अन्त्य गर्दै साझा कांग्रेस निर्माणमा आफनो योगदान रहने, कांग्रेसलाई जनतामुखी पार्टी बनाउन र जनताको दुखसुखको साथी नेपाली कांग्रेस पार्टी भन्ने आम नेता , कार्यकर्ताहरुलाई बुझाउन आफू लागिपरेको पन्तको भनाई छ ।
२०६२ ÷०६३ को जनआन्दोलनसहित विभिन्न शैक्षिक तथा अधिकार प्राप्तीका आन्दोलनहरुमा अग्रमोर्चामा रहेर नेतृत्व गर्दै आएकी पन्त कांग्रेसको झापा – काठमाडौं सम्पर्क समिति कोषाध्यक्षसहित विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि सक्रिय छिन ।