दमक/ राजनीतिक वृत्तमा चासोका साथ हेरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनबाट अध्यक्षमा झापाली युवा नेता एवं सांसद राजेन्द्र लिङदेन विजयी भएका छन ।
लामो समयदेखि पार्टीको नेतृत्व गर्दैै सत्तामा आसिन भइसकेका पूर्व उपप्रधानमन्त्री समेत रहेका तत्कालिन पार्टी अध्यक्ष कमल थापालाई हराउँदै नेता लिङदेन अध्यक्षमा निर्वाचित भएका हुन । लिङदेन एमाले र माओवादी केन्द्र सहितको गठबन्धनबाट झापा ३ मा कांग्रेसका प्रभावशाली मानिएका नेता कृष्ण प्रसाद सिटौलालाई हराएर प्रतिनिधि सभामा निर्वाचित भएपछि एकाएक चर्चामा आएका नेता हुन ।
आज बिहान सकिएको मतगणनाअनुसार अध्यक्षमा निर्वाचित लिङ्देनले एक हजार आठ सय ४४ मत प्राप्त गरेका छन भने अध्यक्षका अर्का प्रत्याशी थापाले १ हजार ६ सय १७ मत ल्याएका छन । अध्यक्षमा पराजित भएपछि थापाले नवनिर्वाचित अध्यक्ष लिङदेनलाई बधाई तथा शुभकामना दिँदै पराजय सहर्ष स्वीकार गर्ने बताएका छन । “प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना । प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु”, थापाले सामाजिक सञ्जालमा ट्विट गर्दै भनेका छन ।
