काठमाडौं/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । राप्रपाको एकताको महाधिवेशन बुधबारबाट सुरु भएको हो । महाधिवेशन अन्तर्गत बिहीबार निर्वाचन प्रक्रिया शुरु भएको जनाइएको छ ।
अध्यक्ष पदमा राजेन्द्र लिङदेन र कमल थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने लिङ्देनलाई समर्थन गरेका छन् । अर्का अध्यक्ष पशुपतिशम्शेर जबरा भने तटस्थ देखिएका छन । उनले पार्टी एकताका लागि सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्ने बताउँदै आएका थिए । थापा र लिङ्देन दुवैले राजसंस्था र हिन्दुराज्य पुनस्थापना तथा संघीयता खारेजीको एजेन्डा अघि सारेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा देशभरबाट ४२ सय प्रतिनिधिहरू सहभागी छन । महाधिवेशनको बन्दसत्रमा अध्यक्ष थापाले राजनीतिक कार्यपत्र, अर्का अध्यक्ष जबराले सामाजिक कार्यपत्र र डा. लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गरेका थिए ।
महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित हुनेछन् । पार्टी अध्यक्षले सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता, सहायक कोषाध्यक्षसहित ५० जना मनोनित गर्न पाउने राप्रपाको विधानमा व्यवस्था छ ।