दमक/ रोटरी क्लब अफ दमकले आफनो ११ औं स्थापना दिवस सेवामुलक कार्यक्रम गरेर मनाएको छ । स्थापना दिवसको अवसर पारेर सोमबार दमकको गणतन्त्र चौंकमा आयोजना गरिएको बृहत खुल्ला रक्तदान कार्यक्रममा ६२ पिन्ट रगत संकलन गर्नुका साथै एक जना सामाजिक अभियानकर्मीलाई सम्मान गरेको छ ।
रोटरीले दमकमा रहेर सामाजिक कार्यमा अतुलनीय योगदान पुरयाएको भन्दै शारिरीक रुपमा अशक्त मदन बोहोरालाई सम्मान गरिएको छ । उनलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाले सम्मान गरेका थिए । त्यस्तै,प्रमुख अतिथि तिम्सीनाले रक्तदानमा सहभागिलाई प्रंशसा पत्र समेत वितरण गरेका रोटरी क्लव अफ दमकका सचिव झलराज गौतम (राजु )ले जानकारी दिए ।
क्लवका अध्यक्ष भरतकुमार चम्लागाईको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, लखनपुरस्थित सशस्त्र प्रहरी वल ३८ नं गणका गणपति सुवास भण्डारी, इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी नवराज कार्की, लायन्स क्लब इन्टरनेशनल ३२५ ए वानका गभर्नर एड अजय अग्रवाल, रोटरी पदाधिकारी,सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

 

Facebook Comments Box