दमक/ कांग्रेस झापाको सभापतिमा देउकुमार थेवेको प्यानलनै विजयी भएको छ । थेवेले कूल १ हजार ७ सय ६५ मत ल्याएर विजयी भएका हुन । नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनको मत परिणाम आइतबार दिउँसो सार्वजनिक भएको हो ।
परिणाम अनुसार थेवेले आफना प्रतिद्धन्दी रामबहादुर कटटेललाई २५० को मतान्तरले हराएका छन । कट्टेलले १ हजार ५ सय १५ मत प्राप्त गरे ।
थेवेको समुहका उपसभापति केशवराज पाण्डेले पदाधिकारी तर्फ सर्वाधिक १८८९ मत ल्याएर विजयी भए भने अर्काे उपसभापति पदमा नै दमकका शेर बहादुर भट्टराई १६७४ मत ल्याएर विजयी भए । त्यसैगरी सचिवमा नविन विमली १८३८ र कृष्ण हुँमागाई १६७६ मत ल्याएर निर्वाचित भए ।
सहसचिवमा शिवगञ्जका कमल भण्डारी १७६० र कालेन्द्र राजवंशी १७६५ मत ल्याएर निर्वाचित भएका जिल्ला निर्वाचन समितिले जनाएको छ । उपसभापतिका उम्मेद्वार प्रेम सम्बाहाम्फेले १४१५, शमशेर गिरीले १२२१, सचिवका उम्मेद्वार विश्वदीप लिङ्देनले १४३१, टोमलाल राजबंशीले १३१५ ,सहसचिव पदका उम्मेदवार पदम लिम्बुले १३४७ र उमाराम प्रसाईले १३३७ मत प्राप्त गरेका छन् । जिल्ला निर्वाचनमा कूल ३ हजार ३११ मत खसेको थियो ।
सभापति निर्वाचित थेवे र उपविजेता कट्टेल दुवै यस अघि कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको समुहमा थिए । तर १४ औं अधिवेशन नजिकिँदै जाँदा सो समुहमा मत भिन्नता बढेपछि थेवेलाई नेता सिटौला, केशवकुमार बुढाथोकी, सुधिरकुमार शिवाकोटी, उद्धव थापा लगायतका पहुँचवाला नेताहरुको समर्थन थियोे भने कट्टेलको पक्षमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य सरिता प्रसाइको समर्थन रहेको थियो । यसलाई जिल्लामा सिटौला गुट र शर्माको गुट भनेर प्रचार गरिएको थियो ।
प्रभावशाली नेताहरु ठुलो संख्यामा थेवेको पक्षमा उभिएपनि यो निर्वाचनको परिणाम समग्रमा नेता सिटौलाको निर्वाचन क्षेत्र झापा ३ बाट थेवेको पक्षमा गएको थियो । क्षेत्र नं १ र ५ को मतगणनामा थेवेसहित उनको प्यानलका उम्मेदवारहरुले पाएको मत निक्कै कम थियो । जसका कारण कट्टेल थेवे भन्दा २४५ मतले अगाडी थिए । ३ नम्बर बाहेकका झापाका चार वटै क्षेत्रको गणना हुँदा सम्म सिटौला पक्ष अर्थात थेवे समुहका उम्मेदवारहरुको अवस्था कमजोर थियो । कांग्रेसमा कमजोर आंकलन गरिएको कट्टेल समूहले निर्वाचनमा पाएको यो मतलाई कतिपय विश्लेषकहरुले सम्माजनक मत भनेका छन ।
को हुन थेवे ?
भौगोलिक रुपमा झापाको हाल क्षेत्र नं ४ स्थित कन्काई नगरपालिकाका बासिन्दा थेवेको राजनीतिक नेतृत्व झापाको देहाती गाउँ कुमरखोदबाट देखिन थालेको हो । २०४९ र २०५४ को दुवै निर्वाचनमा तत्कालिन कुमरखोद गाविसको अध्यक्ष निर्वाचित हुँदै पार्टीको जिल्ला नेतृत्वमा समेत आएका थेवे हक्की, निडर र जुझारु स्वभावका नेता हुन । उनलाई कांग्रेस झापा भित्र बलियो बाघको उपनाम नेता केशवकुमार बुढाथोकी र कार्यकर्ताहरुले दिने गरेका छन । कांग्रेसको जिल्ला समिति सदस्य हुँदै उपसभापति बनेका थेवे पार्टीको महासमिति सदस्य हुन । १३ औं अधिवेशनपछि भएको संघीय निर्वाचन ( प्रतिनिधि सभा निर्वाचन क्षेत्र)को चुनावमा थेवे क्षेत्र नं ४ बाट उम्मेदवार समेत थिए । उनले एमालेका एलपी साँवासंग चुनावमा पराजय ब्यहोरेका थिए ।
१३ औं अधिवेशनमा समेत सभापतिको दाबेदारका रुपमा उभिएका थिए थेवे । उद्धव थापासंग सभापतिमा लडनका लागि १३ औं अधिवेशनमा अन्तिम तयारी गरेर मैदानमा उत्रिएका उनले नेतृत्वका बीचमा १४ औं अधिवेशनमा सभापति बनाउने भनिएको सहमतिपछि सभापतिमा थापालाई निर्विरोध निर्वाचित हुने वातावरण बनाएका थिए । पटक पटक त्यही गुण तिर्नुपर्ने दबाब तत्कालिन अवस्थाका दुवै समुहका नेताहरुमा थियो । त्यो सहमति सिटौला पक्षका लागि मात्रै फाइदा हुने किसिमको भएको र यथार्थमा आफूहरु त्यसलाई मान्य तयार नभएको जिकिरसहित शर्मा समुहले कट्टेलको नेतृत्वमा अलग प्यानल बनाएर चुनावी मैदानमा होमिएको थियो । जसमा ठुलो संख्यामा बौद्धिक जमात तथा युवा पुस्ताका नेताहरु बढी संलग्न थिए । सोही कारण कट्टेल समुहले क्षेत्र नं ३ बाहेकका सबै क्षेत्रको मत परिणाम तुलनात्मक रुपमा आफनो पक्षमा ल्याउन सफल भएको मानिन्छ ।

Facebook Comments Box