दमक/ नेपाली कांग्रेस झापा ५ प्रदेश सभा क्षेत्र खको उपसभापतिका लागि दमकका सामाजिक तथा राजनीतिक व्यक्तित्व हरि प्रसाद अधिकारीले उम्मेदवारी प्रस्तुत गरेका छन ।
नेपाल बिद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरेका अधिकारी तत्कालिन दमक १८ का पुराना बासिन्दा हुन । २०४६ सालपछि उर्लाबारी बहुमुखी क्याम्पसमा अध्ययनको सिलसिलामा नेविसंघमा आवद्ध भएका उनी त्यसताका संघको दमक नगर सचिव समेत भएका थिए । बहुदल प्राप्तीपछि पार्टी राजनीतिमा होमिएका उनले २०४९ को स्थानीय निर्वाचनको समेत सामना गरिसकेका छन । उनले वडा सदस्यमा उम्मेदवारी दिएर पहिलो चुनावी अभ्यासको शुरुवात गरेका थिए । कांग्रेस दमकको नगर समिति र क्षेत्रीय समिति सदस्यमा समेत रहेर पार्टी कामको अनुभव सम्हालिसकेका अधिकारीले पहिलो पटक कार्यान्वयमा आएको प्रदेश सभा निर्वाचन क्षेत्रको उपसभापतिको जिम्मेवारी सम्हाल्न चाहेको बताए ।
राजनीतिसंगै सामाजिक तथा व्यवसायिक क्षेत्रमा समेत उनले नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए ।
मातृभुमी सहकारी संस्थाको अध्यक्ष र दमक वाणिज्य संघ सल्लाहकार समिति सदस्य समेत रहेर जिम्मेवारी निर्वाह गर्दै आएका उनले पार्टी संगठनमा रुपान्तरण र परिवर्तका कुरा आएपनि आर्थिक सुदृढिकरणको बिषय ओझेल परिरहेको बताउँछन । भन्छन– पार्टी नेता, कार्यकर्ताहरुको आर्थिक सुदृढिकरण पार्टी सञ्चालनको शर्त हो । आगामी निर्वाचनमा यस क्षेत्रमा शतप्रतिशत जनप्रतिनिधि जिताउनका लागि आफनो उम्मेदवारी रहेको उनी बताउँछन ।
