प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसकी नेतृ महेन्द्रकुमारी लिम्बु आसन्न १४ औं महाधिवेशनको केन्द्रिय प्रतिनिधिका लागि चुनावी मैदानमा उत्रिएकी छन ।


संसद बैठक , पार्टीको आन्तरिक राजनीति र विविध कारणले काठमाडौं – झापा बाक्लो आउ जाउको बाध्यतामा रहेकी सांसद लिम्बुले आफनो निर्वाचन क्षेत्र झापा ५ मा खुल्ला महिला तर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिएकी हुन । उनी नेपाली कांग्रेसको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने झापाकी एक मात्र सांसद हुन । दमकलाई कर्मथलो बनाएकी लिम्बु करिब अढाई दशक अघिदेखि निरन्तर राजनीतिक यात्रामा छिन ।
पार्टीको महासमिति सदस्य तथा नेपाल महिला संघकी केन्द्रिय सदस्य समेत रहेकी सांसद लिम्बु समानुपातिक महिला कोटामा परेकी हुन । त्यसो त उनले २०६४को संविधान सभा निर्वाचनमा पार्टीका तर्फबाट यस क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग पनि चुनाव लडेकी थिइन । कांग्रेसले एमाले अध्यक्ष ओलीसंगको चुनावी प्रतिस्पर्धामा लिम्बुलाई उतारेपछि नै राजनीतिमा उनको उचाई बढेको हो । पार्टीमा उनको निरन्तरता र सक्रियताको मुल्याङकन गरेर समानुपातिक तर्फ महिला कोटामा उनलाई सांसद बनाएपछि उनले केन्द्रिय सरकारका बिकासे मन्त्रालय तथा विभागहरुमा यहाँका समस्याहरुलाई पुरयाउने र समाधानका लागि सहजीकरण गर्दै आएकी छिन ।

अहिले ५/६ करोड भन्दा धेरै लागतका दुई/तीन वटा योजनामा बजेटको बन्दोबस्ती मिलाएको उनले बताइन । यस क्षेत्रका बाढी पीडित, सुकुम्बासी , आर्थिक विपन्नताको चपेटामा परेका सर्वसाधारण नागरिकहरुको दुख सुखको सहारा बनेर उनले दिइरहेको योगदान सन्तोषजनक छ । केन्द्रिय राजनीतिमा सोझो सम्पर्क र पहुँच राख्ने नेतृ लिम्बुले पार्टी र सरकारको उच्च तहमा कार्यकर्ताहरुको समस्यालाई पुरयाएर समाधानको पहल गर्नेमा उनको सक्रियता उच्च किसिमको छ । पार्टीमा रुपान्तरण र परिवर्तनको बहस चलिरहेको सन्दर्भमा नेतृ लिम्बुको तर्क छ–यो सबै स्वभाविक कुरा हो तर कांग्रेस पार्टीमा यो वा उ कसैको नेतृत्वलाई अस्विकार गरेर समुहका नाममा राजनीति गर्ने परम्परा तोडिन आवश्यक छ । निर्वाचन पछिको परिणामलाई स्विकारेर पार्टी सभापतिलाई सभापति स्विकार्नु पर्छ, यो, उ गुट फैलाएर पार्टी बलियो हुँदैन । उनले पार्टीको केन्द्रिय सभापतिमा शेर बहादुर देउवाको दाबीका बिषयमा भनेकी छिन– पार्टी विधानले उहाँ ( सम्माननीय प्रधानमन्त्री / पार्टी सभापतिलाई यो कार्यकाल चलाउन पाउने अधिकार दिएको छ । महाधिवेशन हो अरुले पनि इच्छा राख्नु सक्नु हुन्छ, भयो भने सहमतिमा भएन भने चुनाव हुन्छ जसले बढी मत पाउनु हुन्छ उहाँलाई हामी सबैले सभापति मान्नु पर्छ पार्टीमा चेन अफ कमाण्ड हुनुपर्छ ।
पार्टीको वडा तथा गाउँ नगर अधिवेशनमा तपाइँको सक्रिय भुमिका देखिएन नि ? भन्ने निष्कर्ष न्यूजको जिज्ञासामा नेतृ लिम्बुले भनिन – म भनेको कांग्रेसले बनाएको साझा सांसद हो, मेरा लागि कांग्रेस कार्यकर्ता सबै समान हुन, नेतृत्व चुन्न उहाँहरुले पाएको अधिकार हो त्यसैले मैंले साझा पदको महत्व विपरित लाग्नु आवश्यक ठानिन । अब क्षेत्रीय अधिवेशनमा म आफैंले चुनाव लडेर जानुपर्ने हुन्छ । मलाई प्राय सबै वडा सभापतिहरु र क्षेत्रीय प्रतिनिधिहरुले ठाउँ ठाउँमा बोलाउनु भएको छ, उहाँहरुसंग भेटघाट पार्टी र सरकारको सन्देश लिएर म जाँदैछु ।

 

Facebook Comments Box