दमक/ हिजो प्रकाशित हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज ( बिहीबार ) मात्रै प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको लागि बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ ।
कार्यालयले एसईईको नतिजा हिजोनै प्रकाशन तयारी गरे पनि पुनः परीक्षण नसकिएकाले नतिजा आज सार्वजनिक गर्न लागिएको हो । अन्य कुनै प्राविधिक कारण या बोर्डले फरक निर्णय नगरे नतिजा प्रकाशन हुने छ ।
विगतमा जेठ मसान्तदेखि असार एक दुई गतेभित्रै एसईईको नतिजा प्रकाशन हुने गरेको थियो । तर, यसपटक भने प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला भएको बताइएको छ । गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् ।