अढाई दशकदेखि नेपाली कांग्रेस राजनीतिको अभिच्छिन्न यात्रामा रहेका पात्र हुन शेर बहादुर भट्टराई । पार्टीको दमक नगर उपसभापति रहेकै बखत सभापति जित बहादुर खडकाको राजीनामा पछि कार्यवहाक नगर सभापति भएर कांग्रेस दमकलाई नेतृत्व प्रदान गरेका भट्टराईले पूर्ण सभापतिका रुपमा भने एक कार्यकाल बिताए ।
एकपटक क्षेत्रीय सभापतिमा विर बहादुर प्रसाइँसंगको प्रतिस्पर्धामा झिनो मतान्तरले पराजित भएका उनी लगातार दुई कार्यकाल पार्टीको क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका भट्टराई पूर्व शिक्षक तथा दमकका सक्रिय सामाजिक तथा राजनीतिक व्यक्तित्वको रुपमा परिचित छन ।

सालिन र भद्र स्वभाव भएका भट्टराईको कार्यकालमा नै कांग्रेस दमक र क्षेत्रीय समितिका भवनहरुको निर्माण भएको हो । भट्टराई भन्छन– पार्टी कार्यालय भवन निर्माणका लागि जग्गादातासंग कुराकानी गरेर व्यवस्थापन गरियो मेरै कार्यकालमा तेपागाछी र धरमपुरमा गाउँ पार्टी कार्यालय भवन निर्माण शुरु भएको हो ।
भट्टराईले आफनो कार्यकालमा काम गर्न अपनाएको शैलीबारे बताउँदै भने– आर्थिक पारदर्शीताका लागि म आफू सभापति छँदा भवन निर्माणका लागि छुट्टै निर्माण समिति गठन गरिएको थियो भवन निर्माणमा संयोजक रहेर काम गर्नुहुने स्व. भानुभक्त सुवेदीलाई म यतिबेला स्मरण गर्न चाहन्छु । उनी दुई कार्यकाल (११ औं र १२ औं महाधिवेशनमा क्षेत्रीय सभापति पछि पार्टीको १३ औं महाधिवेशनमा भने महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य चुनिन सफल भएका भट्टराई गत स्थानीय निर्वाचनमा पार्टीले दमकमा स्थानीय निर्वाचन जित्न नसकेको प्रति फरक तर्क गर्छन । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ६ मसिंरमा हुन गइरहेको झापा क्षेत्र नं ५ को क्षेत्रीय अधिवेशनमा खुल्ला तर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका भट्टराई पार्टीले उम्मेदवार चयनमा नै त्रुटी गरेका कारण परिणाम शुन्य भएको तर्क राख्छन ।
उम्मेदवार चयन पारदर्शी रुपमा भएन, साथीभाईको बीचमा व्यापक छलफल भएन उम्मेदवारनै गलत सिफारिस गरियो त्यसको चुनावमा कांग्रेसले हार्नु पर्यो, अहिले पार्टीको वडा तहदेखिनै नेतृत्व परिवर्तन गरिएको छ अबको चुनावी नतिजा त्यस्तो हुँदैन । पार्टीमा रुपान्तरण र पुस्तान्तरणको सवालमा नेता भट्टराई भन्छन – पार्टीको क्षेत्रीय प्रतिनिधि, वडा सभापतिहरु ८० प्रतिशत जति नयाँ पुस्ताका आउनु भएको छ , उहाँहरु सबैको सक्रियता रहन्छ । पार्टीमा पुस्तान्तरण र रुपान्तरणको कुरा छ , पुस्तान्तरण भनेको प्राकृतिक रुपमानै स्वत हुँदै जाने कुरा हो रुपान्तरण भनेको नेतृत्वमा परिवर्तन हो जो अहिले भइरहेको छ ।
कांग्रेस भित्र गुट उपगुट अन्त्य हुन नसकेको बिषयमा निष्कर्ष न्यूजको जिज्ञासा मेटदै भट्टराईले भने– पार्टीमा गुट भनेको आफसे आफ बन्ने कुरा रहेछ । एकाथरी साथीहरु उम्मेदवारी घोषणा गर्नुहुन्छ, अर्कोथरी साथीहरु हामीलाई त त्यहाँ अन्याय भयो भन्दै आउनु हुन्छ अनि उहाँहरुलाई समेटेर अर्को समुह बन्छ यसैलाई कांग्रेसमा गुट उपगुट भनिन्छ । यसरी हेर्दा गुट बन्ने भनेको आफनो आफनो सुरक्षाका लागि जस्तो देखिन्छ ।
पार्टीको लामो समय सम्म नेतृत्वमा रहेर पनि कम्युनिष्ट प्रभावित यस क्षेत्रमा कांग्रेसको अधिवेशनमा एकता र सर्वसम्मत नेतृत्व चयनका लागि प्रयत्नको कमि भएको बिषयमा भट्टराईले भने– पहिला पनि यो प्रयत्न नभएको होइन, हामी एकातिर त्यो प्रयास गर्छौैैं साथीहरु अर्कोतिर अर्कै उम्मेदवार बनाइदिनु हुन्छ , त्यसकारण बारबार त्यो प्रयत्न गरेपनि सफल हुन सकिएन । तथापी यो अधिवेशनमा धेरै वडाहरुमा त्यो कसरत गरिएको छ । ४० औं जना प्रतिनिधि चयन हुनुपर्ने वडामा पनि सर्वसम्मत नेतृत्व चयन गरियो । एकाध बाहेकका सबै वडाहरुमा नेतृत्व चयन सर्वसम्मतनै भएको छ, त्यो माथिल्लो तहमा भने गर्न सकिएन ।
पार्टीमा नेताहरुको उमेरको बिषयलाई लिएर भइरहेको टिकाटिप्पणी प्रति लक्षित गर्दै नेता भट्टराईले भनेका छन– मेरो यो उमेर भएपनि पार्टीमा युवाको भन्दा कम सक्रियता छैन, पार्टीमा युवाले दिने भन्दा कम योगदान म बाट हुनेछैन । अझै मेरो पर्फमेन्स पार्टीलाई यस ठाउँमा दिशा निर्देश गर्ने खालको हुनेछ । उनले यस पटक आफूले वडा तहदेखिनै पार्टी नेतृत्व परिवर्तन गर्न चाहेको र आफूले चाहे अनुसार , आफनो समर्थन रहेका उम्मेदवारहरुले नै पालिका तथा वडा तहको निर्वाचनमा नेतृत्व हात पारिसकेको तर्क गर्दै आगामी निर्वाचनहरुमा पन िआफनो समर्थन रहेको टिमले सबै ठाउँमा जित्ने दाबी गरे । आफू महाधिवेशन प्रतिनिधि चुनिएपछि यसपटक पार्टीको जिल्ला नेतृत्वमा लम्किने संकेत पनि नेता भट्टराईले गरेका छन ।
