दमक/केहि दिन अघि भोजपुरमा आफ्ना कार्यकर्ता तिर्थ घिमिरेमाथि प्रहरीले गोली चलाएर ज्यान लिएको तथा देशैभर नेता कार्यकर्ताहरुमाथि धरपकड भईरहेको भन्दै सोको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज गरेको नेपाल बन्दको झापासहित पूर्वका विभिन्न ठाउँमा प्रभाव देखिएको छ ।
बन्दको पूर्व सन्ध्यामा हिँजो साँझ भद्रपुर, विर्तामोड लगायतका आसपासका क्षेत्रमा सरकारी प्रतिबन्धका बाबजुद सो पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका बताइएको छ । नेकपाका कार्यकर्ताहरु सडकमा नदेखिएपनि सार्वजनिक तथा निजी प्रयोजनका सवारी साधनहरु चलेका छैनन् । पूर्वपश्चीम लोकमार्गमा सशस्त्र प्रहरीको टोली ठाउँ ठाउँमा सुरक्षाका लागि खटाइएको छ भने जनपथ प्रहरीको टोली गाडीमा परिचालन भएको देखिन्छ ।
बन्दका कारण भनि स्पष्ट नखुलाएपनि धेरै जसो निजी शिक्षण संस्था बोर्डिङ स्कूलका सञ्चालक तथा शिक्षकहरुले विशेष परिस्थितीका कारण आज विद्यालय बन्द रहने, पठनपाठन नहुने …..आदि ब्यहोराका सूचना सामाजिक सञ्जालहरुमार्फत गरेका छन् । विहान सञ्चालन हुने क्याम्पसको पठनपाठन समेत हुन नसकेको बताइएको छ । बजार पसलमा समेत पूर्ण रुपमा खुल्न सकेका छैनन् ।
सुन्दरहरैंचामा शंकास्पद वस्तु
यसैबीच मोरङको सुन्दरहरैंचा वडा नम्बर ७ ठडियामा रहेको विजुलीको पोलमा एउटा शंकास्पद बस्तु फेला परेपछि सुरक्षाकर्मीले त्यसलाई घेरा हालेका छन् । कुकरमा तारले बेरेर बिजुलीको पोल छेउमा बोरामाथि राखिएको सो वस्तु बम भएको हुन सक्ने आशङ्का छ । सोका कारण सडकमा सवारीका साधन भने चलिरहेका छन् ।

Facebook Comments Box