दमक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पार्टीको आन्तरिक अधिवेशनमा किचलो देखिएको छ । पार्टी भित्र विभिन्न तहका कमिटीहरु चयनका क्रममा क्षेत्र नं ५ का अधिकांश पालिकामा आन्तरिक किचलो छताछुल्ल भएको हो ।
१० औं महाधिवेशन अन्तर्गत पालिकास्तरको अधिवेशनबाट कमिटी निर्वाचित गर्नुपर्नेमा नेतृत्वले एकतर्फी दबाब र प्रभावका कारण पार्टीमा सक्रिय तथा योगदान पुरयाएका कतिपय कार्यकर्ताहरुलाई जवरजस्त उम्मेदवारी फिर्ता लिन लगाउने, एकतर्फी रुपमा कमिटी घोषणा गर्ने जस्ता कृयाकलाप भएको एमाले निकट शुत्रहरुबाट थाहा भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ९ कार्तिकमा भर्चुअल माध्यमबाट एकसाथ देशभरका पालिकाहरुको अधिवेशन शुरु गरेपनि आगामी स्थानीय निर्वाचन तथा आम निर्वाचनका आकांक्षीहरुको सक्रियताका कारण अहिले पनि अझै सम्म नेतृत्व चयनमा न त मतदानको प्रकृया अपनाइएको छ न त असन्तुष्ट कार्यकर्ताहरुको व्यवस्थापननै । पार्टी अध्यक्षकै क्षेत्र तथा नगरमा नेतृत्व चयन पारदर्शी ढंगबाट नहुनुलाई कतिपय कार्यकर्ताहरुले दुखद भनेका छन ।
दमकमा उपाध्यक्ष चुन्न सकेन
यस क्षेत्रको प्रमुख नगरका रुपमा रहेको दमक नगरमा पार्टी नेतृत्व आशिंक मात्रै निर्विरोध निर्वाचित भएको छ ।
एमालेले तत्कालिन नगर कमिटी उपाध्यक्ष गेहनाथ पोखरेलको अध्यक्षतामा दमक नगरको आशिंक मात्रै कमिटी घोषणा गरिएको छ । उपाध्यक्षमा र व्यापारी तथा बद्धिजीवि फाँटबाट चुनिनु पर्ने एक/एक सदस्यको नाममा सहमति जुटन नसकेको एमाले स्रोतले जनाएको छ ।
नगर कमिटीको उपाध्यक्षमा मेदनी खरेल र दिपेश दाहालले आआफनो अडान कायमै राखेका कारण अधुरो कमिटी घोषणा गरेर एमाले भित्र भित्रै आन्तरिक विवादमा फसेको बताइएको छ । घोषित कमिटीको सचिवमा ईन्द्र गुरुङ् तथा उपसचिवमा सन्तोष दुलाल र उर्मिला ओली चयन भएका जनाइएको छ ।
गौरादहको अध्यक्षमै तामाङको आपत्ति
गौरादह नगर कमिटीको अधिवेशनमा नगर अध्यक्षको प्रत्यासी रहेका बलबहादुर तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत एकतर्फी रुपमा मित्रदेव काफले नेतृत्वको कमिटी घोषणा भएको भन्दै आपत्तीनै जनाएका छन ।
पार्टीका बहालवाला नगर कमिटी अध्यक्ष काफलेलाई पुन एक कार्यकालका लागि अध्यक्ष बनाउने नेताहरुबीच सहमति भएको खबरहरु बाहिर आएपछि उनले त्यस्तो आपत्ती जनाएका हुन । तामाङले काफ्ले सहित आफुहरु तीन जनाले उम्मेदवारी दर्ता गराएको तर आफु र राजेन्द्र सुवेदीले उम्मेदवारी फिर्ता नलिईकनै निर्वाचन समितिले जबरजस्ती काफ्लेको पक्षमा निर्णय गर्दै जबरजस्ती नगर कमिटी गठन गरेको जिकिर पनि गरेका छन । तामाङले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् – नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रथम गौरादह नगर अधिवेशनको अध्यक्षमण्डलले जबर्जस्ती निर्णय गरी निर्वाचन कमिटीलाई सुचना टाँस गर्ने निर्देशन गरेको ले यो कमिटी अबैध रहेको जानकारी गराउद छु । हाल अध्यक्ष पदका उमेदवार क.मित्र देव काफ्ले , बल बहादुर तामाङ्ग र क.राजेन्द्र सुवेदी ३ जना रहेको र नामाङ्न नै फिर्ता नलिई, उमेदवार संग कुनै सल्लाह समेत नगरी कसरी सर्बसम्मत हुन्छ ?
नगर अधिबेशन प्रतिनिधि समेतलाई समेत गुमराहमा राखी सर्बसम्मत भएको सुचना टाँस गरेकोले यो नगर कमिटी अधिबेशनको अध्यक्ष मण्डलसंग यो निर्णय फिर्ता लिई तुरुन्तै निर्वाचन गराउने ब्यवस्था गरियोस् भन्ने माग गर्दछौं ।
त्यसैगरी गौरीगञ्ज गाउँ कमिटीको नेतृत्व भने तीन दिनको रस्साकस्सी पछि सर्वसम्मत चयन भएको सार्वजनिक गरिएको छ । गाउँ कमिटीको अध्यक्षमा गोविन्द कुँवर सर्वसम्मत चयन भएका सो पार्टीले जनाएको छ । त्यसैगरी कमलमा प्रेमबहादुर पोखरेलको अध्यक्षतामा पृथ्वीपति राई उपाध्यक्ष, हरि ढकाल सचिव र चन्द्रकला ढकाल तथा वीरेन्द्र अधिकारी उपसचिव रहेको गाउँकमिटी सर्वसम्मत चयन भएको छ ।
१० प्रतिनिधिका लागि २५ को उम्मेदवारी
एमालेले क्षेत्र नम्बर ५ बाट आसन्न महाधिवेशनका लागि प्रतिनिधी छनौटका क्रममा २५ जनाको उम्मेद्वारी परेको जनाएको छ । यहाँ आकांक्षीहरुको संख्या उच्च हुँदा निर्वाचित हुनु पर्ने संख्याको दोव्वर भन्दा पनि बढि उम्मेद्वारी परेको हो ।
पार्टीका जिल्ला कार्यालय सचिव शिव ढुंगेलका अनुसार क्षेत्र नं. ५ मा आगामी महाधिवेशनमा १० जना प्रतिनिधी निर्वाचित हुने छन् । उम्मेद्वारी धेरैको परे पनि सके सम्म सर्वसम्मत प्रतिनिधी छनौटको प्रयास भई रहेको ढुंगेलले बताए । सर्वसम्मत नेतृत्व चयनका लागि शुक्रबार सम्म उम्मेद्वारी फिर्ताको समय तोकिएको छ । सर्वसम्मत हुन नसके शनिवार निर्वाचन हुने कार्यतालिका रहेको छ । निर्वाचनका लागि विभिन्न स्थानीय तहमा बुथ समेत तोकिएको छ ।
३ जना सर्वसम्मत
महाधिवेशनमा उम्मेद्वारी दिएका मध्ये ३ जना भने सर्वसम्मत् चयन भएका छन् । कमल गाउँपालिकाबाट गाउँपालिका अध्यक्ष समेत रहनु भएकी मेनुका काफ्ले, गौरादह नगरपालिकाबाट लिला कट्टेल र गौरीगञ्ज गाउँपालिकाबाट सर्वतलाल राजवंशी सर्वसम्मत् चयन हुनु भएको नेता ढुंगेलले जानकारी दिए ।