दिपिन्द्र थापाको नाम नेपाली कांग्रेस झापाको राजनीतिमा उदियमान युवा नेताको रुपमा आउँछ । विशेष गरी २०७४ को स्थानीय निर्वाचनमा देशभर कांग्रेस चुनावी पराजयको पीडामा रहेको बेला झापाका पालिकाहरुको निर्वाचन परिणामलाई सिंगो मुलुकले नजिकबाट नियालिरहेका बेला गौरीगञ्ज गाउँपालिकाको उपाध्यक्षमा थापाको जितले कांग्रेसको शिर उचो बनाएको थियो ।
सो गाउँपालिकामा उपाध्यक्षसहित बहुमत स्थानमा कांग्रेसले जित हासिल गरेको थियो । कांग्रेसको राजनीतिमा स्पष्ट विचार र दृष्टिकोण भएको स्थानीय नेताका रुपमा चिनिएका नेता थापा १४ औ महाधिबेशनमा झापा क्षेत्र न.५ बाट खुुल्ला तर्फको महाधिबेशन प्रतिनिधिका प्रतिस्पर्धीे मध्येका एक हुन ।
को हुन थापा ?
गौरीगञ्ज ३ बाट क्षेत्रीय प्रतिनिधि चुनिएका थापा कानुनी संकायका बिद्यार्थी पनि हुन । झापाको गौरीगन्ज ३ स्थायी घर भएका थापा पार्टीको राजनीतिमा २०४५ साल देखि सक्रिय छन । २०४५ सालमा गौरादहस्थित जनता माविमा नेविसंघको सचिब हुदै राजनीति यात्रा शुरू गरेका थापा २०५२ सालमा इकाइ सभापति बनेका थिए ।
उच्च शिक्षाका लागि स्थानीय क्याम्पसका रुपमा रहेको गौरादह बहुमुखी क्याम्पसलाई नै रोजेका उनी सो क्याम्पसमा नेविसंघको इकाई सभापति पनि बनेका थिए । २०५४ सालको गौरादह बहुमुखी क्याम्पसको स्वबियू निर्वाचनमा सभापतिका लागि उम्मेदवारीको अन्तिम तयारीमा रहँदा स्ववियु निर्वाचन स्थगित भएको थियो । २०५४ सालमै नेबिसंघको जिल्ला सदस्य, २०५६ मा जिल्ला सचिब ,तरुण दल जिल्ला सदस्य हुदै कांग्रेसको १३ औं महाधिवेशनमा उनले तत्कालिन झापा क्षेत्र नं ६ को सभापतिको प्रत्यासी बनेका थिए । सोहि वर्ष स्थानीय परिचालन समितिको संयोजक बनेका थापालाई २०७४ को स्थानीय निर्वाचनमा पार्टीले गौरीगञ्ज गापाको उपाध्यक्षमा उम्मेदवार बनायो । उनले निर्वाचन आफनो पक्षमा पार्न सफल भए ।
थापा राजनीतिसंगै शिक्षा ,खेलकुद र कलाकारिता क्षेत्रमा पनि उत्तिकै सक्रिय छन । स्थानीय ज्ञानोदय मा.बि.को संस्थापक प्रिन्सिपलका रुपमा रहेर १० वर्ष जिम्मेवारी निर्वाह गरेका उनी प्याप्सन झापाको सदस्य समेत भइसकेका छन ।

शिक्षा संगै थापा मार्शल आर्टका प्रशिक्षक पनि हुन । राष्ट्रिय खेलकुद परिषद सदस्यमा लामो समय सम्म प्रशिक्षकका रुपमा समेत रहेका उनी रंगकर्मी भएका कारण राष्ट्रीय स्तरबाट सम्मान र पुरस्कार समेत पाइसकेका व्यक्तित्व हुन । कांग्रेसमा अब युवा नेतृत्व अगाडी आउनु पर्छ भन्ने मान्यता राख्ने थापा युवाले नै पार्टीलाई रूपान्तरण गर्न सक्ने कुरामा दुई मत नरहेको बताउँदै आएका छन । कांग्रेस अब कांग्रेसको लागि मात्र हुनु हुदैन आम जनताको लागि कांग्रेस हुनु पर्छ भन्ने युवा नेता बिश्वप्रकास शर्माको बिचार महत्वपूर्ण भएको बताउदै थापाले सोहि बिचार लिएर आफु पनि चुनाबी मैदानमा आएको बताउँदै आएका छन ।