विराटनगर/ जिल्ला प्रहरी कार्यालय सोलु मातहतमा रहेको प्रहरी चौकी खुम्जुङको नवनिर्मित कार्यालय भवनको उदघाटन गरिएको छ ।
चौकीको हाता भित्र आज बिहान भएको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले नवनिर्मित प्रहरी चौकी भवनको बिधिवत रुपमा उदघाटन गरेका हुन । १ करोड ६८ लाख ६४ हजार ३ सय ८४ रुपैयाँको लागतमा प्रहरी चौकी खुम्जुङको कार्यालय भवन, आवास, भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो ।
भवनको उदघाटन तथा निरीक्षण पश्चात प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस बासको उचित ब्यबस्था भएसंगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताए । कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन समेत दिए । भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो ।