दमक/  ९ कार्तिकमा एकैदिन उदघाटन गरिएको नेकपा एमालेको पालिका अधिवेशन कतै नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ भने कतै नेतृत्व चुन्न मतदान गर्नुपरेको छ । कतिपय ठाउँहरुमा विभिन्न पदमा मनोनयन गरेका नेता कार्यकर्ताहरुलाई पार्टीको निर्देशन भन्दै उम्मेदवारी फिर्ता लिन लगाएर सर्वसम्मत नेतृत्व चयन भएको प्रचार गरिएको छ । कतिपय पालिकामा केही पदहरुमा सर्वसम्मत हुन नसकेपछि ति पद खाली राख्दै सर्वसम्मत चयन भएका पदाधिकारी तथा सदस्यहरुको नाम घोषणा गरिएको छ ।
त्यस्तो कृयाकलापका कारण अधिवेशन पूर्ण हुन नसकेको भनि कतिपय विश्लेषक र कार्यकर्ताहरुले भित्रभित्रै असन्तुष्टि पनि जनाइरहेका छन । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र अन्तर्गतको दमकमा भने एमालेले पार्टीको नगर कमिटी आशिंक मात्रै चुन्न सफल भएको छ । एमालेले तत्कालिन नगर कमिटी उपाध्यक्ष गेहनाथ पोखरेलको अध्यक्षतामा नगर कमिटी घोषणा गरेपनि उपाध्यक्ष र अन्य तीन सदस्यको नाम फाइनल गर्न सकेन । नगर प्रमुख समेत रहेका पार्टी नेता रोमनाथ ओलीको अध्यक्षतामा रहेको अध्यक्ष मण्डलले नेतृत्व चयनमा सर्वसम्मत प्रकृया अपनाउने भन्दै तीन दिनपछि अधुरो नगर कमिटी घोषणा गरेको हो ।
नगर कमिटीको उपाध्यक्षमा मेदनी खरेल र दिपेश दाहालको अडान कायमै रहेपछि हिजो ( शुक्रबार) साँझ सो पदसंगै अन्य तीन फाँटबाट चुनिनु पर्ने नगर सदस्यको समेत स्थान खाली राख्दै नगर कमिटी घोषणा गरिएको हो । घोषित कमिटीको सचिवमा ईन्द्र गुरुङ् तथा उपसचिवमा सन्तोष दुलाल र उर्मिला ओली चयन भएका जनाइएको छ । गौरादह नगर कमिटीको अधिवेशन नेतृत्व चयन गर्नै नसकि स्थागित भएको छ ।
गौरादहमा पार्टीका बहालवाला नगर कमिटी अध्यक्ष मित्रदेव काफलेसहित आधा दर्जन नेताहरु पार्टीको नगर अध्यक्षमा आफनो उम्मेदवारी पेश गरेर दौडधुपमा छन । एमाले स्रोतका अनुसार त्यहाँ अध्यक्षमा काफलेसहित नगेन्द्र भण्डारी, राजेन्द्र सुवेदी, नारायण घिमिरे , दुर्गामणी बस्नेत र बल बहादुर तामाङले अध्यक्षमा उम्मेदवारी पेश गरेका छन । त्यस्तै उपाध्यक्षमा गजेन्द्र घिमिरे, वेदनिधी खतिवडा र सूर्य गौतम तथा सचिवमा दिलिप भण्डारी र जिवन कार्कीले उम्मेदवारी पेश गरेका हुन । त्यहाँ उपसचिवमा पनि ४ जनाको उम्मेदवारी रहेको बताइएको छ । नेतृत्व चयनमा सहमति जुटन नसकेपछि गौरादहमा स्थगित भएको नगर अधिवेशन पुन शुरु हुने निश्चित छैन । स्रोतका अनुसार सहमति कायम हुन नसके अब तिहारपछि मात्रै निर्वाचनको प्रकृया अघि बढनेछ ।
तीन दिनको कसरत पछि शुक्रबार दिउँसो जिल्लाको गौरीगञ्ज गाउँ कमिटीको नेतृत्व सर्वसम्मत भएको सार्वजनिक गरिएको छ । गाउँ कमिटीको अध्यक्षमा गोविन्द कुँवर सर्वसम्मत चयन भएका सो पार्टीले जनाएको छ । वडा नं १ निवासी कुँवर तत्कालिन गौरीगञ्ज १ का वडा कमिटी अध्यक्ष थिए । उनी २०७४ को स्थानीय चुनावमा वडाध्यक्षका प्रत्यासी पनि थिए । त्यसैगरी उपाध्यक्षमा राम कृष्ण पन्त, सचिव श्रवण गिरी, उपसचिवमा राजकुमार राजवंशी र कृष्ण महतो सर्वसम्मत भएका छन् । ७५ सदस्यीय पालिका कमिटीमा निर्वाचितहरुको शनिवार आज सपथ ग्रहण कार्यक्रम राखिएको सो पार्टीले जनाएको छ । त्यसैगरी कमलमा प्रेमबहादुर पोखरेलको अध्यक्षतामा पृथ्वीपति राई उपाध्यक्ष, हरि ढकाल सचिव र चन्द्रकला ढकाल तथा वीरेन्द्र अधिकारी उपसचिव रहेको गाउँकमिटी सर्वसम्मत चयन भएको छ । सो कमिटीको पद हस्तान्तरण पछि गाउँकमिटीको पहिलो बैठक समेत सम्पन्न भइसकेको जनाइएको छ ।

Facebook Comments Box