शिबसताक्षी/ मेची महाकाली बुहारी संयुक्त आवाज दमक शाखाले क्यान्सर पीडित ३५ महिनाकी जेसिका विश्वकर्माको उपचारमा आर्थिक सहयोग गरेको छ । झापाको शिबसताक्षी–८ श्रीजंघा चौकका ३५ महिनाकी क्यानसर पीडित जेसिकाको घरैमा पुगेर मेची महाकाली बुहारी संयुक्त आवाजले रु १५ हजार १ सय नगदसहित खाद्यान्य सामाग्रीहरु हस्तान्त्रण गरेको हो ।
मेची महाकाली बुहारी संंयुक्त आवाज दमक शाखाको तर्फबाट अध्यक्ष जमुना निरौला अधिकारीको नेतृत्वमा सिता अधिकारी तिम्सिना, रिना राई, अनु ओडारी, जुनु भट्टराई, चम्पा दाहाल र शुशिला कार्की बस्नेतको टोलीले क्यानसर पीडित जेसिकासहित आमा सितालाई सो नगद सहयोग तथा खाद्यान्य सामाग्रीहरु हस्तान्त्रण गरेको हो ।
सो अवसरमा संस्थाकी अध्यक्ष जमुना निरौला अधिकारीले मानवीय सेवाप्रति मेची महाकाली बुहारी संयुक्त आवाजले देशभरी सकारात्मक मन, विचार र भावनासहित सहयोग अभियान सञ्चालन गरिरहेको बताईन् । एउटालाई समस्या आइपर्दा अर्काले सहयोग गर्न सक्नु मानवीय कार्य हो, जमुनाले भनिन्–यो जटिल रोगसँग जीवन मरणको दोसाधमा परेको एउटी शिशुको उपचारमा सकेको सहयोग गर्न सक्नु पर्दछ ।
अध्यक्ष अधिकारीले दमकसहित आसपासको क्षेत्रमा सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको मेची महाकाली बुहारी संयुक्त आवाजले झापा लगायत देशभरीको विभिन्न जिल्लामा महिला र बालबालिकाको अधिकार सम्बन्धी कार्य गरिरहेको बताईन् ।

कमजोर आर्थिक अवस्थाका जेसिकाको परिवारले उपचारमा आर्थिक समस्या भएको र सहयोग गर्न अपिल गरेका थिए । जेसिकाकी एक दिदी र आमा सिता विश्वकर्म छन् । उनका बुबा बैदेशिक रोजगारको शिलशिलामा छन् ।
बस्ने घरसम्म नेपाल सरकारले जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरिदिएको छ । ‘बस्ने घर पनि सरकारले बनाइदिएको हो’, जेसिकाकी नातेदार मोहन सेनचुउरीले भने–’घर भएको जमिन मात्रै हो, अरु खेतबारी छैन् ।’
एक वर्षअघि जेसिकाको आँखामा समस्या भएको आमा सिताले बताईन् । सिताको अनुसार छोरीलाई आँखामा समस्या देखियो । आँखामा समस्या भएपछि नजिकैको अस्पतालमा पुर्याएको सिताले बताईन् । केही अस्पतालहरु लैजादा-लैजादै धेरै खर्चहरु भयो तर आँखामा भएको समस्यामा खासै सुधार
भएन, सिताले भनिन्–’निकै समस्या भएपछि डाक्टरको सल्लाह अनुसार विर्तामोडस्थित पूर्वाञ्चाल क्यानसर अस्पतालमा पुर्र्याए ।’ सो अस्पतालले छोरीलाई आँखामा ट्युमर पलाएको र त्यसको अप्रेशन गर्नुपर्ने डाक्टरले सुझाए ।
जेसिकाले हाल, ८ वटा केमु चढाइसकिन् । अझै, ४ वटा केमु चढाउन बाँकी नै छ । उनको उपचारमा अझै थप रकम आवश्यक पर्ने आमा सिताले बताईन् । घरायसी अवस्था कमजोर छ, सिताले भनिन्–’श्वास रहेसम्म आश हुन्छ । छोरीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । केमु नियमित दिइरहनु भन्ने डाक्टरको सल्लाह छ ।’
यता, जेसिका बचाउ अभियान मार्फत उपचारमा लाग्ने खर्च जुटाउदै लगिएको पत्रकार एबम् अभियानकर्मी गोविन ल्वागुनले बताए । ‘उपचारमा आर्थिक सहयोग जुटाउनलाई जेसिका बचाउ अभियानले सामाजिक सञ्जाल मार्फत प्रयासहरु भइरहेको छ’, ल्वागुनले भने ।
सहयोग हस्तान्त्रणपश्चात जेसिकाकी आफन्त नातेदार मोहन सेनचुउरीले मेची महाकाली बुहारी संयुक्त आवाज मार्फत सवै दिदी बहिनीहरुलाई धन्यवाद व्यक्त गरे ।