दमकमा पालिकास्तरिय वडाध्यक्ष कप भलिबलको उपाधी झापाले जित्यो

Author Nishkarsha News
२०७८ आश्विन २०, बुधबार २१:३८

दमक/झापाको दमक ३ मा सम्पन्न प्रदेशस्तरीय प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ ।
दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रंगाशालामा जारी प्रतियोगिता अन्तर्गत आज ( बुधबार ) भएको फाइनल खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई हराउँदै झापा गाउँपालिकाले उपाधि जितेको हो ।


सो प्रतिस्पर्धामा ३–० को सोझो सेटमा भोजपुरको टिमलाई हराउँदै झापा गाउँपालिकाको टिमले उपाधि रक्षा गरेको बताइएको छ । प्रतियोगिता दमक नगरपालिका उप–खेलकुद समिति वडा नम्वर–३ को आयोजनामा १८ असोजदेखि सञ्चालन गरिएको थियो । विजेता टिमले जितसंगै नगद १ लाख, प्रमाणपत्र र मेडल हात पारेको छ । त्यसैगरी उपविजेता बनेको भोजपुरले नगद ५० हजार, प्रमाणपत्र र मेडलमा चित्त बुझाउनु परेको छ ।
५ वटा जिल्लाका १९ पालिकाबीच भएको प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट खेलाडी झापाका रविन शिवाकोटी, वेष्ट सटर वेलबारीका पदम खड्का, वेष्ट लिवटो झापाका गणेश कटुवाल, वेष्ट व्लकर झापाकै रोहित शिवाकोटी, बेष्ट स्पाइकर रामप्रसाद राईका दिनेश तामाङ र वेष्ट सरबर राष्ट्रिय खेलाडी दमकका मुस्कान खुदाङ्ग घोषित भएका छन । उनीहरुले ट्रफी तथा नगद ५ र २ हजार प्राप्त गरेका छन । विजेता टिम तथा खेलाडीहरुलाई दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले पुस्कार , ट्रफी र मेडल हस्तान्तरण गरेका थिए । दमक ३ का वडाध्यक्ष नविन बरालले निर्माणाधिन सो रंगशालाको बिकास र प्रचार प्रसारका साथै सो क्षेत्रलाई खेलकुद हबका रुपमा बिकास गर्न प्रतियोगिताको आयोजना गरिएको बताए । उनले वडाले खेलकुदको व्यवसायिकतालाई पनि प्राथमिकता दिएको बताए ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्