दमक/दमक– २ को नमुना विद्यालय हिमालय माविमा एक करोडभन्दा बढी रकम हिनामिना भएको प्रतिवेदन बाहिर आएको छ  ।  आर्थिक वर्ष ०७७/७८ मा विद्यार्थीबाट विभिन्न नाममा लिइएको शुल्कको रकम हिनामिना भएको लेखा सुपरिवेक्षण समितिको ठहर छ । विद्यालयमा करिब तीन हजार पाँच सय विद्यार्थी छन् ।

एक करोड १४ लाख ७४ हजार आठ सय पाँच रुपैयाँ हिनामिना भएको आन्तरिक छानबिनमा भेटिएको छ । विद्यालय व्यवस्थापन समितिले आन्तरिक लेखा अनुसन्धानका लागि ३१ भदौमा विद्यालयका शिक्षक कृष्णप्रसाद बरालको संयोजकत्वमा पाँच सदस्यीय लेखा सुपरिवेक्षण समिति बनाएको थियो ।

समितिले गत आर्थिक वर्षमा रकम हिनामिना गरेको निष्कर्षसहित बुधबार विद्यालय व्यवस्थापन समितिलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा विभिन्न मितिमा आम्दानी नै गायब बनाएर अर्थात् विद्यालयले चलाउँदै आएको सफ्टवेयर नै गायब बनाएर ७१ लाख ८४ हजार सात सय ५० रुपैयाँ अनियमितता गरिएको उल्लेख छ । यस्तै, छानबिनमा विद्यालयको आम्दानी देखाए पनि ४२ लाख ९० हजार ५५ रुपैयाँ बैंकमा जम्मा नगरी हिनामिना गरेको प्रतिवेदनमा छ ।

उक्त जिम्मेवार पदाधिकारीबाट असुुलउपर गर्नुपर्ने निष्कर्ष समितिको छ । यस्तै, दश लाख ६५ हजार एक सय २१ रुपैयाँको पनि खर्च पुष्टि नभएकाले असुलउपर गर्नुपर्ने प्रतिवेदनमा छ । चालू आर्थिक वर्षको साउन, भदौ र १० असोजसम्मको आम्दानी रकम १९ लाख २८ हजार पाँच सय रुपैयाँ पनि हालसम्म विद्यालयको खातामा जम्मा नभएको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमै स्रोत नखुलेको ६९ लाख ४० हजार रकम विद्यालयको खातामा जम्मा भएको पाइएको छ । ०७७ साउनमा पाँच लाख ९० हजार, असोजमा ६३ लाख ५० हजार रकम स्रोतविनै बैंकमा दाखिला भएको प्रतिवेदनमा छ।

‘नगद अपचलन र अव्यावहारिक खर्चमा प्रत्यक्ष संलग्न व्यक्तिलाई आवश्यक कारबाही गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनमा छ ।

लेखापाल  दयासागर आचार्यले यसमा आफ्नो मात्र जिम्मेवारी नरहेको बताए । ‘मेरो मात्र जिम्मेवारी पनि होइन हेडसर, सहायक हेडसर, सहायक लेखापालहरू पनि छन् । कसले कति हिसाब निकाल्यो मलाई थाहा छैन,’ उनले भने, ‘अहिले आम्दानी मात्र देखाएर बोलिएको छ । सफ्टवेयरको गडबडीले तलमाथि भएको होला । सफ्टवेयर डिलिट गरिएको होइन । आन्तरिक षड्यन्त्र भएको छ ।’

प्रधानाध्यापक ओम आचार्यले पनि रकम जम्मा हुने क्रममा रहेको बताए । ‘पहिला आन्तरिक लेखापरीक्षण गथ्र्यौँ । विद्यालयमा ठूलो हिसाबकिताब हुन्छ । एकजनाले भ्याउँदिनँ भनेपछि हामीले पाँच सदस्यीय लेखा सुपरिवेक्षण समिति बनाएका छौँ,’ उनले भने, ‘कताकता प्रस्ट देखिएन भन्ने छ । रकम डिपोजिट हुने क्रममा छ । कतिपय खर्च भएको होला, त्यो हेर्न बाँकी छ । डिपोजिट नभई खर्च मात्र पनि हुन सक्छ ।’

दमक नगरपालिकाका नगप्रमुख रोमनाथ ओलीले अनियमितताको आशंकामा नगरपालिकाले नै विद्यालयमा छानबिन गराएको बताए । ‘अनियमितता भएर छानबिन गरिएको हो । यो सानो बदमासी होइन । यसलाई त्यसै छाडिँदैन,’ मेयर ओलीले भने, ‘हामी स्कुलको मात्र भर पर्दैनौँ । सबैतिरबाट अध्ययन गर्छौँ । कानुनी कारबाही पनि गर्छौँ । पैसा जम्मा गरेर मात्र उन्मुक्ति पाउँदैन ।’  नयाँ पत्रिकाबाट संशोधनसहित साभार 

 

Facebook Comments Box