दमक/ नेपाली कांग्रेस कमल गाउँपालिका सभापति पदका दुई जना प्रत्यासीले बराबर मत पाएपछि यसका बिषयमा कांग्रेस वृत्तमा मात्रै होइन अन्य राजनीतिक दल र आम नागरिकहरुमा समेत छुट्टै किसिमको बहस र चर्चा शुरु भएको छ । असोज १० मा सम्पन्न कांग्रेसको गाउँ अधिवेशनमा भएको निर्वाचनबाट पार्टीका वहालवाला गाउँ सभापति  खगेन भण्डारी र र तत्कानि तोपगाछी गाविसका पूर्व सभापति बुद्धिराज न्यौपानेले  ६५/६५ मत प्राप्त गरेका थिए ।
अधिकांश पदमा द्धिपक्षीय प्रतिस्पर्धा भएको सो निर्वाचनमा सभापति पदमा अर्का एक प्रत्यासीका रुपमा प्रमोद दाहाल पनि चुनावी मैदानमा थिए । तर दाहालको उम्मेदवारी औपचारिकतामा मात्रै सिमित रहेको चर्चाका कारण पनि सभापतिका दुई जना प्रत्यासी न्यौपाने र भण्डारीले ६५/६५ अर्थात बराबर मत प्राप्त गरे । यसले कमलमा कांग्रेसको संगठन निर्माण र आगामी निर्वाचनमा सशक्त भुमिका निर्वाह गर्नका लागि कांग्रेस भित्रै ठुलो दबाब सिर्जना गरेको विश्लेषण गर्न सकिन्छ । पार्टी भित्रको आन्तरिक एकताका लागि कमल गाउँपालिकामा कांग्रेस भित्र चर्को दबाब रहेको पनि यसले संकेत गर्छ ।

२०७४ को निर्वाचनमा नेकपा एमालेले देशभरका स्थानीय तहहरुमा आफनो दबदबा प्रस्तुत गरेको बेला, कम्युनिष्ट प्रभावित क्षेत्र ( गढ) मानिने कमलमा गाउँपालिका अध्यक्षमा एमालेकी मेनुका काफले र कांग्रेसका हुकुमसिंह राईले बराबर मत पाएका थिए । कमलबासीले गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हाल्न बराबर मतादेश दिएको भएपनि बिद्यमान कानुनी व्यवस्था र अध्यक्ष पदका प्रत्यासीबीचको समझदारीका कारण मेनुका काफलेले गोलाप्रथाबाट अध्यक्षको जिम्मेवारी लिने मौका पाएकी थिइन । यसले कांग्रेस वृत्तमा एक मतको महत्वलाई राम्रैसंग दर्शाएको थियो । त्यसैको निरन्तरता जस्तै कांग्रेसको आन्तरिक निर्वाचनमा पनि कमलमा सभापतिका प्रत्यासीद्धयले बराबर मत पाए । यसले कमलमा कांग्रेसबीचको एकता र मजबुत संगठन निर्माणका लागि दबाब दिएको पुष्टि हुन्छ । सहमति अनुसार सभापतिमा बराबर मत पाएका न्यौपाने र भण्डारीले आधा आधा कार्यकाल बाँँडेर सभापतिको जिम्मेवारी सम्हाल्नेछन । गाउँ निर्वाचनका लागि खटिएको निर्वाचन समितिको माइन्यूटमा समेत यस बिषयमा सभापतिका प्रत्यासीद्धय न्यौपाने र भण्डारीसंगै प्रतिनिधिहरुले हस्ताक्षर गरिसकेका छन ।

निर्वाचन समितिले दुई मध्ये एकलाई विजयी घोषणा गर्नेै पर्ने बाध्यतालाई मध्यनजर गर्दै दुई पक्षबीच पहिलो कार्यकाल न्यौपानेलाई सभापतिको जिम्मेवारी दिने र त्यसपछिको दोश्रो कार्यकाल भण्डारीले सभापति पद सम्हाल्ने लिखित सहमति पनि बाहिर आइसकेको छ । यसमा स्थानीय चार जना स्थानीय नेताहरुले हस्ताक्षर पनि गरिसकेका छन । कांग्रेसको संगठनमा एकता र सहअस्तित्वका लागि यो एउटा बलियो कडि हुन सक्दछ । कांग्रेसका पूर्व महासमिति सदस्य समेत रहेका स्थानीय नेता राजन बहादुर ढुंगाना आफनो फेसबुक वालमा लेख्छन– लिखित सहमतिले आगामी निर्वाचनहरुमा सहमति र सहकार्यसहित नेपाली कांग्रेस अगाडी जानेछ भन्नेमा बलियो विश्वास पैदा भएको छ । उनले अगाडी थपेका छन– प्राप्त मतले सहमति र सहकार्यसहित कमल कांग्रेसलाई अगाडी बढाउने जनादेश दिएको छ ।
कांग्रेस जिल्ला सदस्य तथा गाउँपालिकाको अध्यक्षका प्रत्यासी हुकुमसिंह राई  भन्छन– कांग्रेस कार्यकर्ताहरुको भावना यो परिणामले प्रतिनिधित्व गरेको छ  ।  कार्यकर्ताहरु यो निर्वाचन परिणामले दिएको मतादेश अनुसार कांग्रेसको नेतृत्व अघि बढनु पर्ने राई बताउँछन । राईको बुझाईमा यो मतादेश एक ढिक्का भएर कांग्रेसलाई विपक्षी कम्युनिष्टहरुसंग मुकाबिला गर्ने मतादेश पनि हो ।

Facebook Comments Box