दमक/ झापामा शुरु हुन लागेको दिलमाया स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत झापा गाउँपालिकामा मंगलबार(आज)देखि छनौट खेल शुरु भएका छन ।

झापा क्षेत्र नम्बर–४ मा पर्ने २८ वटै वडाहरुका बिच प्रतिस्पर्धा हुने गरी “दिलमाया स्मृती कप फुटबल प्रतियोगिता” को छनौट खेल शुरु भएको हो । झापा गाउँपालिका वडा नं ७ स्थित जनकल्याण माविको खेलमैदानमा आज मंगलवारदेखि सुरु भएको प्रतियोगिताको सो क्षेत्रका संघीय सांसद तथा प्रतियोगिता प्रायोजक परिवारका सदस्य एलपी सावाँ लिम्बुले उदघाटन गर्दै खेल क्षेत्रलाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिए ।
पहिलो दिन समूह “ए” अन्तरगत झापा गाउँपालिका वडा ५ र १ बिच भएको पहिलो प्रतिस्पर्धामा वडा ५ ले झिनो गोल अन्तरले १ लाई पराजित गरेको छ । वडा ५ को लागि १ को आत्मघाती गोलनै निर्णायक बनेको थियो । त्यस्तै समूह “बि” अन्तरगत भएको दोस्रो खेलमा वडा ७ ले वडा २ लाई ३–० को गोलान्तर पराजित गरेको छ । वडा ७ का जर्सी नम्बर १५ का संजय टुडुले पहिलो गोल लगाएर टिमलाई अग्रता दिलाए संगै पुन जर्सी नंम्बर ९ का मानबहादुर आलेमगरले २ गोल गर्दै गोल थपेका थिए ।
झापा गाउँपालिकामा रहेका ७ वडा बिच छनौट खेल हुनेछ । खेलको अन्तिम दुई स्थान हासिल गर्ने वडाले दिलमाया स्मृती कपमा हुने खेलमा सहभागी हुन पाउने छ । यसरी नै क्षेत्र नं–४ मा रहेका प्रत्येक पालिकामा छनौट खेल हुनेछन । कुल २८ वडामा हुने प्रारम्भिक छनौट खेलबाट दिलमाया स्मृती कपमा ८ टिम सहभागी हुन पाउने छन ।
क्षेत्र नं–४ का संघिय सांसद एलपी सावाँ लिम्बुकी माता स्व.दिलमाया लिम्बुको स्मृतिमा सावाँ परिवारको प्रायोजन तथा संरक्षणमा सो कप आयोजना गरिएको हो । प्रतियोगिता आयोजक नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटि रहेको छ । प्रतियोगिता आउदो कार्तिक ८ गते देखि शिवसताक्षीमा हुने बताइएको छ । सो प्रतियोगितामा प्रथम पुरुस्कार २ लाख २५ हजार नगद, दोस्रो पुरुस्कार १ लाख २५ हजार नगद र प्रमाण पत्र,मेडल,ट्रफी रहेको छ । त्यस्तै सेमिफाइनल र क्वाटरफाइनल पुगेका टिमले समेत नगद पुरुस्कार पाउने आयोजकले जनाएको छ ।