दमक/ नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा दमक र कमलमा शतप्रतिशत मत खसेको छ । दमकका निर्वाचन अधिकृत बब्रुवन दाहालका अनुसार पूर्व निर्धारित समय दिउँसो १ बजे भित्रै नगर निर्वाचनमा शत प्रतिशत अर्थात ३२६ मत खसेको हो । उनले भने– शान्तिपूर्ण वातावरणमा शतप्रतिशत मत खसेको छ , तत्कालै गणना पनि शुरु गरेका छौं ।

मतपटक सटिङ गर्ने काम भइरहेको र केही बेरमा नै गणना प्रारम्भ हुने भएकाले आजनै साँझ सम्ममा परिणाम बाहिर आउने अनुमान गरिएको छ । दमकको दिपिनी आधारभुत बिद्यालयमा नगर निर्वाचनका लागि मतदानस्थल तोकिएको थियो । निर्वाचनमा नगर भित्रका १० वटै वडाका वडा सभापतिहरु र निर्वाचित क्षेत्रीय प्रतिनिधिहरु मतदाता रहेका थिए । कांग्रेस दमकको नेतृत्वका लागि प्रकाश प्रसाइँ, पर्शुराम रिजाल र रोशन विष्टको समुह अलग अलग प्यानल खडा गरेर चुनावमा होमिएका थिए ।

त्यसैगरी दमकसंगै जोडिएको कमल गाउँपालिकामा पनि कांग्रेस नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा शत प्रतिशत अर्थात १३७ मत खसेको सहायक मतदान अधिकृत विष्णु सुब्बाले जानकारी दिए । कमलमा निर्धारित समय भन्दा केही ढिलो गरी मतदान शुरु भएको थियो । मतदान सम्पन्न भइसकेकाले अहिले ३ बजेदेखि गणना गर्ने तयारी भएको छ ।
त्यहाँ उम्मेदवारी फिर्ताको बिषयमा विवाद भएपछि जिल्ला निर्वाचन समितिको टोलीले विवाद समाधान गरेको थियो । त्यहाँ भएको निर्वाचनमा एक सभापतिका तीन जनाको उम्मेदवारी छ । खगेन भण्डारी, बुद्धि न्यौपाने र प्रमोद दाहाल सभापतिका उम्मेदवार छन । त्यसैगरी दुई उपसभापतिका लागि ५ जना, २ सचिवका लागि ४ जना र २ जना सहसचिवका लागि पनि ४ जना उम्मेदवार छन ।

