दमक/ ५५ बर्षिया एक महिलाको हत्या अभियोगमा झापाको झापा गाउँपालिकाका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा गाँउपालिका–१ माईती घर भइ भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतमा बस्दै डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा उनीहरु परेका हुन । पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका–१ का ३७ बर्षीय लखन टुडु सतार , ५६ बर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ बर्षीय श्री हेमरम सतार रहेका छन ।

गत भाद्र २५ गते तत्काल नामथर वतन नखुलेको अवस्थामा झापा झापा गाँउपालिका–१ स्थित सानो माईखोलामा महिलाको अर्ध शरीर भएको टाँउको, घाटी,पेट (कम्मर भन्दा माथिको भाग) तथा घुँडा भन्दा मुनिको भाग नभएको अवस्थामा लास फेला परेको थियो । प्रहरी अनुसन्धान तथा महिलाको अर्ध शरीरको लाश फेला परेको बिषयमा स्थानीय सहित उनको पहिचान गराउने क्रममा अर्ध शरीरको लाश ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको रहेको खुलेको थियो । लाशको पहिचान खुलेसंगै थप अनुसन्धानमा जुटेको प्रहरीले उनको हत्या गरेको पुष्टी गरेसंगै उनको हत्यामा संलग्न रहेका चारै जनालाई असोज १ गते पक्राउ गरेर आज जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको हो । पक्राउ परेकाहरु मृतक धोन्नीको आफन्तहरु रहेको र जग्गाको बिषयमा उनीहरु बिच बिबाद हुदै आएको थियो । चारै जना मिलेर टुडुलाई माईखोला किनारमा टुक्रा–टुक्रा पारि हत्या गरेको खुलेको छ ।