दमक/ नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत दमकको आसन्न नगर अधिवेशनमा चुनावी प्रतिस्पर्धाका लागि तयार भएका तीन मध्ये दुई समुहका बीचमा सहमति भएको भन्ने चर्चाले कांग्रेस वृत्तमा हलचल पैदा गरेको छ ।
गएराती करिब १० बजेपछि देखि नेता कार्यकर्ताबीच मच्चिएको खैलाबैलाका बिषयमा नगर सभापतिका एक जना प्रत्यासी पर्शुराम रिजालले प्रष्ट पार्दै भने– १४ औं महाधिवेशनको नारा पनि उत्साह, एकता र रुपान्तरण, सफल पारौं १४ औं महाधिवेशन भन्ने छ । यो नारालाई सार्थक बनाउनका लागि नेता, कार्यकर्ताहरुबीच चरणवद्ध रुपमा दुईपक्षीय र बहुपक्षीय छलफल र संवाद जारी छ अहिले सम्म बाहिर चर्चामा आएजस्तो कुनै ठोस सहमति भइसकेको छैन । बाहिर आएको चर्चाका बिषयमा निष्कर्ष न्यूजसंग कुरा गर्दै रिजालले भने– आगामी निर्वाचनमा कांग्रेसले दमक जित्नुपर्छ , एकताबद्ध कांग्रेस हुनुपर्छ भन्ने कुरामा सबै सहमत हो , त्यसका लागि पर्शुराम रिजाल पछि हटयो, वा कोही सभापति भयो भन्ने अफवाह फैलाइनु जायज होइन । संवादमा बसेका दुई पक्षबीच सहमतिका लागि कुनै एक पक्षले अर्को पक्षलाई समर्थन गर्ने बिषयमा छलफल हुनुलाई अस्वभाविक रुपमा लिन नहुने पनि रिजालको तर्क छ ।
कांग्रेस कार्यकर्ताहरुका बीचमा दमकमा यसअघि रोशन विष्ट नेतृत्वको प्यानल र पर्शुराम रिजाल नेतृत्वको प्यानलका नेताहरुका बीचमा संवाद र सहकार्यको वातावरण बनाउन कांग्रेसका युवा नेता तथा महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले पहल गरेको बताइएको छ । उनकै सक्रियतामा दुई पक्षका शीर्ष नेताहरुबीच संवाद चलिरहेको बताइएको छ । कांग्रेसमा कतिपय शुभेच्छुक तथा सक्रिय नेताहरुले सभापतिमा अहिले सम्म चर्चामा आएका दुई उम्मेदवारलाई ब्याक गर्ने र नयाँ उम्मेदवारको प्रस्ताव समेत आउन सक्ने अडकलबाजी कार्यकर्ताहरुले गरिरहेका बुझिएको छ । त्यस्तो प्रस्तावलाई प्रकाश प्रसाइँ नेतृत्वको प्यानलमा भने आइनसकेको सो प्यानलका एक जना उम्मेदवारले प्रष्टयाएका छन । उनले भनेका छन– उहाँहरु बीचमा के के भयो त्यो हामीले जान्ने कुरा भएन हाम्रो टिम मत माग्न घरदैलोमा छ ।

Facebook Comments Box