दमक/ नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन दमक इकाई अध्यक्ष एवं नेपाली कांग्रेस दमक ३ का तत्कालिन वडा सभापति उद्धव प्रसाद दाहालले झापा क्षेत्र नं ५ (ख) बाट प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने भएका छन । आज ३ असोज ( संविधान दिवस) को अवसर पारेर उनले १२ असोजमा हुने प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिने सार्वजनिक गरेका हुन ।

आफनो उम्मेदवारीको औचित्यबारे प्रष्टयाउँदै दाहालले निष्कर्ष न्यूजसंगको कुराकानीमा भने– ऐतिहासिक महत्वको दिन हो आज म एउटा कानुनको बिद्यार्थी पनि भएको कारण आजको दिनलाई आम नेपाली जनताको ऐतिहासिक दिन पनि भएकाले मेरो उम्मेदवारीको बिषय सार्वजनिक गर्न चाहेको हुँ । उनले मुलुक संघीय संरचनामा गएको र प्रदेश सभा यसैको महत्वपूर्ण अंग भएका कारण यसको महत्वलाई उजागर गर्नका लागि पनि प्रदेश सभा निर्वाचन क्षेत्रको महाधिवेशन प्रतिनिधि बनेर आफूले पार्टी र देशलाई योगदान दिन चाहेको बताए ।
को हुन उम्मेदवार दाहाल ?
पुख्र्यौली घर भोजपुरको तत्कालिन याकु गाविसमा भएका उद्धव प्रसाद दाहालको राजनीतिक यात्रा भोजपुरबाटै शुरु भएको हो । उनी भोजपुरको विश्वप्रेमी माविमा पढदा पढदै नेविसंघको सदस्यता लिई संघको इकाई समिति सभापति समेत भएका थिए । उनी बिद्यार्थी कालदेखिनै नेविसंघमा आवद्ध भएर कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन । २०४६ सालको राजनीतिक परिवर्तनको आन्दोलनमा उनी भोजपुरमै सहभागी भएका थिए । त्यही बेला उनी नेविसंघको जिल्ला सदस्य समेत भए । प्रविणता प्रमाण पत्र तह सम्मको औपचारिक शिक्षा पूरा गरेका उनी याकु गाविसको ५ नम्बर वडाको पार्टी सभापतिको जिम्मेवारी सम्हालिसकेका व्यक्तित्व हुन । भोजपुरबाट झापाको तत्कालिन तोपगाछी ९ मा बसाईसरी आएपछि दाहालले एक कार्यकाल त्यहाँ पनि एक कार्यकाल पार्टीको वडा सभापतिको जिम्मेवारी सम्हालेका थिए भने एक कार्यकाल गाउँ सचिवको जिम्मेवारी पूरा गरे । पछिल्लो समय दमक ३ मा बसोबासोसंगै उनलाई पार्टी जिम्मेवारीले छोडेन । भर्खरै १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशनबाट मात्रै उनले वडा सभापतिको जिम्मेवारीबाट हटदै पार्टीको क्षेत्रीय प्रतिनिधिमा चुनिएका छन । राजनीतिमा मेरो निरन्तरतालाई अघि बढाउन मैंले प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने निधो गरेको छु – दाहालले भने – सबै नेता, कार्यकर्ताहरुले मेरो अहिले सम्मको सक्रियताको सहि मुल्याङकन गर्नुहुनेछ भन्ने लागेको छ । दाहाल पेशाले कानुन व्यवसायी भएपनि सहकारी तथा विभिन्न सामाजिक संस्थाहरुमा समेत क्रियाशील छन ।

Facebook Comments Box