दमक/ नेपाल बिद्यार्थी संघकी केन्द्रिय उपाध्यक्ष एवं नेतृ तुलसा पन्त झापा क्षेत्र नं ५ बाट नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा उत्रिएकी छिन । बिद्यार्थी आन्दोलनबाट केन्द्रिय राजनीतिमा स्थापित भएकी तुलसाले पार्टी संगठनमा योगदानको निरन्तरताका लागि आफूले महिलाबाट महाधिवेशन प्रतिनिधिका रुपमा जान चाहेकी बताएकी छिन ।

झापाको कमल गाउँपालिका वडा नं ७ साविक लखनपुर ८ की स्थायीबासिन्दा पन्तले लखनपुरमा प्रारम्भिक शिक्षा प्रारम्भ गरेर दमकको हिमालय माविबाट एसलसी उत्तिर्ण गरेकी हुन । उनले उच्च शिक्षाका सिलसिलामा काठमाडौंस्थित पद्यकन्या बहुमुखी क्याम्पसमा अध्ययनरत रहेको अवस्थामा नै आफूलाई नेविसंघको केन्द्रिय राजनीतिमा स्थापित गरेकी हुन । मेरो राजनीतिक शुरुवात नेविसंघबाटै हो – पन्तले आफनो उम्मेदवारी घोषणाका सिलसिलामा निष्कर्ष न्यूजसंगको कुराकानीमा भनिन ।
कांग्रेस झापा – काठमाडौं सम्पर्क समिति कोषाध्यक्ष समेत रहेकी पन्त पद्यकन्य बहुमुखी क्याम्पस बागबजारको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनबाट कार्य समिति सदस्य, उपसभापति हुँदै सभापति समेत निर्वाचित भइसकेकी छिन । उनले बिद्यार्थी राजनीतिको कालखण्डमा विशेष गरी २०६२/०६३ को जनआन्दोलन र बिद्यार्थी आन्दोलनहरुमा नेतृत्वदायी भुमिका निर्वाह गरेकी थिइन ।
आन्दोलनसंगै आफनो अध्ययनलाई समेत निरन्तरता दिइन । समाजशास्त्रमा स्नाकोत्तर गरेकी पन्तले नेपाल क्याम्पसबाट कानुनमा समेत स्नातक हासिल गरेकी छिन । पार्टीको केन्द्रिय राजनीतिमा महिलाहरुको पहुँच तुलनात्मक रुपमा बढदै गएपनि यसैमा सन्तुष्ट हुने अवस्था नरहेको उनले बताइन ।
उनले भनिन – त्यसो त पार्टीको केन्द्रिय कोषाध्यक्षमा अहिले पनि सीतादेवी यादव हुनुहुन्छ, चित्रलेखा यादवले पनि जिम्मेवारी सम्हालिसक्नु भयो अब को महाधिवेशनमा समेत सरिता प्रसाइँ, डिना उपाध्याय लगायतका महिला नेतृहरु कांग्रेसको पदाधिकारीमा जिम्मेवारी लिन तयार हुनुहुन्छ । संविधानले महिलालाई राज्यका हरेक निकायमा ३३ प्रतिशत सहभागीता सुनिश्चित गराएको कारण कांग्रेसले समेत यसपटक वडा तहदेखिनै महिलाहरुको सहभागिता न्यूनतम ३३ प्रतिशत ग्यारेन्टी गराएको भन्दै नेतृ पन्तले अब सबै तह र तप्कामा यसको कार्यान्वयनका लागि आफूले ठोस पहल कदमी लिने बताइन । आफू अध्ययनका सिलसिलामा काठमाडौं केन्द्रित भएपनि गृह जिल्ला र आफनो क्षेत्रका समस्याको समाधानका लागि गरेको पहल र हरेक राजनीतिक परिवर्तनका आन्दोलनहरुको अग्रमोर्चामा गरेको योगदानलाई पार्टीका सबै तह तप्काका नेता कार्यकर्ताहरुलाई आत्मसाथ गरिदिन उनले अपिल गरेकी छिन ।