दमक/नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा झापाको कमल गाउँ समिति अन्तर्गतका नेता कार्यकर्ताहरुले उम्मेदवारीका लागि विभिन्न पदमा दाबी पेश गरेका छन । नेता कार्यकर्ताहरु ७० जनाले विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका हुन ।
वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरु तथा ७ ओटै वडाका वडा सभापतिहरुको भेलामा गाउँ सभापतिका लागि पाँच जनाले आफनो उम्मेदवारी घोषणा गरेका छन । कांग्रेस कमलका वर्तमान सभापति खगेन भण्डारी, सहसभापति राजकुमार न्यौपाने, गाउँ समिति सदस्य प्रमोद दाहाल, तोपगाछीका पूर्व सभापति बुद्धि न्यौपाने र कांग्रेसका तर्फबाट कमल १ मा निर्वाचित वडाध्यक्ष केदार कटुवालले गाउँ सभापतिका लागि आआफनो दाबी पेश गरेका हुन ।

सो गाउँपालिकाबाट महाधिवेशन प्रतिनिधिका लागि समेत केही स्थानीय नेता कार्यकर्ताले आफनो दाबी पेश गरेका छन । दिलिप राई, हुकुमसिंह राई, टिकाराज सापकोटा, राजन बहादुर ढुंगाना, पदम पौडेल, तुलसा पन्त, महेन्द्र भट्टराई र जिवन न्यौपानेले पनि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने सार्वजनिक गरे । त्यस्तै धर्मानन्द भट्टराईले क्षेत्रीय सचिवमा, शेरबहादुर श्रेष्ठले क्षेत्रीय समिति सदस्यमा, विदुर भारतीले प्रदेश सभा निर्वाचन क्षेत्र ५ (ख)को सचिवमा , दिनेश अधिकारीले प्रदेश सभा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने इच्छा जाहेर गरेका थिए । त्यस्तै नैनकला सेढाइँ, सरस्वती सेढाइँ, विष्णुकुमारी बेघा, लगायतले पनि आआफनो दाबी पेश गरेका थिए । उम्मेदवारीमा दाबी पेश गर्नेको लर्को लागेपछि त्यहाँ भेलाले सहजीकरण तथा समन्वयका लागि स्थानीय नेताहरु सम्मिलित ७ सदस्यीय समिति गठन गरेको कांग्रेस झापाका जिल्ला सदस्य हुकुमसिंह राईले जानकारी दिए । महाधिवेशन हो कमलमा पनि अरु ठाउँमा जस्तै थुप्रै नेता, कार्यकर्ताहरुको पार्टीमा योगदान छ , सबैलाई जिम्मेवारी दिएर जान सकिने ठाउँ पनि छन सके सम्म सबैको भावनाको कदर हुने गरी समितिले काम गर्नेछ – जिल्ला सदस्य राईले भने ।
सो भेला पार्टीका केन्द्रिय सदस्य दिलिप राईको प्रमुख आतिथ्य र गाउँ सभापति खगेन भण्डारीको सभापतित्वमा सञ्चालन भएको थियो । भेलालाई कांग्रेस महासमिति सदस्य तथा जिल्ला सभापतिका प्रभावशाली उम्मेदवार देउमान थेवे, पूर्व जिल्ला सभापति पूर्णानन्द शर्मा लगायतले सम्बोधन गरेका थिए ।

Facebook Comments Box