दमक/ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत झापामा वडा अधिवेशन सम्पन्न भएपछि पार्टी भित्र स्थानीय नेताहरुको विभिन्न समुह सक्रिय भएको छ । वडा अधिवेशन अघि क्षेत्रीय प्रतिनिधिहरु आफनो पक्षका धेरै भन्दा धेरै चयन गराउन सक्रिय समुह २० भाद्रपछि पालिकास्तरको नेतृत्व आ आफनो पक्षमा ल्याउन कस्सिएको हो । पालिकास्तरको नगर / गाउँ अधिवेशन २७ भाद्रका लागि तोकि सकिएको छ ।
झापाको दमकमा तीन समुह नगरस्तरीय पार्टी नेतृत्वका लागि रस्साकस्सीमा लागेको देखिन्छ ।

अघिल्लो १३ औं नगर अधिवेशनमा सभापतिका बलियो प्रत्यासीका रुपमा देखिएका नेविसंघ झापाका पूर्व सभापति समेत भइसकेका आफूलाई कांग्रेसमा सक्षम र सवल नेतृत्वको दाबी गर्दै आएका पर्शुराम रिजाल नेतृत्वको आंशिक समुह २२ भाद्रमा सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक भइसकेको छ । उनका समर्थक र शुभचिन्तकका रुपमा रहेका स्थानीय नेता सुरेश सुब्बाले समेत रिजाल नेतृत्वको सो आंशिक टिमलाई अग्रिम बधाई तथा शुभकामनाको सन्देश सार्वजनिक गरे । यसले दमकमा कांग्रेस वृत्तमा हलचल पैदा गरिदिएको छ । रिजाल नेतृत्वको सो समुहले पार्टीका नगर सदस्य प्रेम भट्टराईलाई भावी नगर उपसभापति र रामचन्द्र अधिकारी ( आरसी)लाई सचिव र विजय राई र रमुना चापागाइँलाई सहसचिवका रुपमा अघि सारेको हो ।

नगर समितिको एक उपसभापति र एक सचिव पदमा अर्को कुनै पनि समुहलाई अटाउन सकिने सो समुहको तर्क छ । यो सर्वसम्मतिका लागि ढोका खुल्ला रहेको संकेत पनि भएको बताइएको छ । नगर सभापतिका उम्मेदवार रिजालले भने– हामीले सबैलाई अटाउने र सबैको भावनाको सम्बोधन हुने किसिमको नेतृत्व चयनमा जोड दिएका छौं । चुनावी दौड शुरु भइसक्यो , एक किसिमको चित्र पनि देखिइसकेको छ । उनले कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा अधिकतम सिट जिताएर एक नम्बरको पाटी बनाउने आफनो टिमको साझा लक्ष्य हुने पनि बताए ।
नगर नेतृत्वको दाबी गर्दै आएका अर्का प्रभावशाली मानिएका कांग्रेस दमक नगर समिति सचिवमा १३ औं अधिवेशनबाट लोकप्रिय मत पाएका प्रकाश प्रसाइँ नेतृत्वको समुहका पनि पदाधिकारीमा आशिंक उम्मेदवार फिक्स गरेर अन्य पदहरुमा सर्वसम्मत नेतृत्व चयनका लागि खाली राखेको बताइएको छ । सो समुह निकटस्थ एक नेताका अनुसार प्रसाइँ नेतृत्वको समुहले नगर उपसभापतिका लागि मिना कोइराला र युवराज खनाल ( सागर) र सचिवमा नवराज ढकालको नाम फिक्स गरेको हो । सो समुह पनि चुनावी दौडाहाका क्रममा क्षेत्रीय प्रतिनिधि अर्थात नगर निर्वाचनका मतदाताहरुसंग पुगिरहेको छ । प्रसाइँ नेतृत्वको समुहका एक जना नेताले भने – हामीले अन्य पदका उम्मेदवार पनि तय गरिसकेका छौं , क्षेत्रीय प्रतिनिधिहरुको भावना बुझने काम पनि हुँदैछ , नगरमा कांग्रेसको नेतृत्व लिन धेरै अघि सरिरहेको बुझिन्छ तर यहाँका नेता कार्यकर्ताले भरपर्दो कांग्रेस खोजेका छन । कार्यकर्तालाई आवश्यक परेको समस्यामा काँध हालेर समाधान गर्न सक्ने सक्षम नेतृत्वको आवश्यकता छ त्यो क्षमता हाम्रो समुहले राख्छ ।
रिजाल र प्रसाइँसंगै कांग्रेसमा नगर नेतृत्वको अभ्यास गरिसकेका वर्तमान नगर सभापति रोशन विष्ट पनि आफनो कार्यकालको समिक्षासहित सभापति दोहोरयाउने कसरतमा लागेका छन । उनको समुहलाई पनि स्थानीय नेता कार्यकर्ताहरुको बलियो साथ र सहयोग रहेको दाबी समुहका नेताहरुले गरिरहेका छन । आफनो कार्यकालमा नगरका विभिन्न संघ संस्थाहरुमा पार्टीलाई विजयी गराउन सफल भएको ,अक्षयकोष निर्माणको शुरुवात गरेको र पार्टीको पूर्व निर्धारित योजना अनुसार केन्द्रिय नेताहरुको उपस्थितीमा महत्वपूर्ण कार्यक्रमहरु गरेर पार्टी संगठनलाई चलायमान बनाएको दाबी विष्ट नेतृत्वको समुहले गर्दै एक पटक पुनः नेतृत्व गर्ने मौका पाउनु पर्ने तर्क कार्यकर्ताहरु माझ राखिरहेको छ । रिजाल र प्रसाइँ नेतृत्वको टिमले उम्मेदवारहरुको आंशिक नामावाली सार्वजनिक गरिरहँदा विष्टको समुहमा भने अहिले सम्म वर्तमान नगर सहसचिव दिपेश दाहाल नगर सचिवको उम्मेदवारका रुपमा छन । विष्ट नेतृत्वको समुहले पनि आज ( बिहिबार) सम्ममा उम्मेदवारको तय गर्ने बताइएको छ ।