मनिषा ‘एवई ’राई

नेपाली नारीहरुको महान चाड तीज यतिखेर हाम्रो घरघरमा भित्रीएको छ । स्वदेश तथा विदेशमा बस्ने हामी सवै नेपाली महिलाहरुले आ–आफनै ढंगले तिज पर्व मनाउदै आएका पनि छौं । स्वदेशमा रहदाँ आफनै गाँउघरमा तिजलाई बढो हर्षोल्लासका साथ मनाउन्थ्यौ तर विदेशमा भने स्वदेश जस्तो भने पटक्कै हुदैन् ।

विदेशमा आफनै समस्या छन्, यहाँ उल्लेख गरिरहनु पनि आवश्यक ठानिन् । महिला र तीज एक अर्काका पर्यायवाची जस्तै भएकै कारण होला दुई दिन मनाउने तीजलाई मौलिक पर्वका रुपमा मान्दै आएको पाईन्छ । तीजमा आज दर खाने र भोलि वर्त बस्ने सांस्कृतिक महत्व रहेको छ । तीज पर्व एउटा धर्म आस्था भित्रका मात्र सीमित भएपनि यसले विस्तारै अहिले सवै नेपाली महिलाका साझा पर्वका रुपमा यसले अपनत्व पाउदै गएको छ । जहाँसम्म गैरहिन्दु धर्मावलम्बीहरुले पनि तीजलाई मौलिक पर्वका रुपमा अङिकार गरिसकेको अवस्था छ । त्यसो त तीजमा मौलिकपन हरायो भन्न थालिएको छ ।  नेपाली महिलाले तीज पर्वलाई पवित्र पर्बका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको भने अवश्य छ । जसले सामाजिक सञ्जालमा केहि टिकाटिप्पणी हुदैआएका छन् ।

यसैसन्दर्भमा मैले पनि सामाजिक सञ्जालमा विभिन्न प्रतिकृया खेप्नुपरेको छ । कसैले आलोचना गरे त कसैले धार्मिक तथा सांस्कृतिक स्वतन्त्रा माथि नै कडा चुनौती दिन पनि भ्याए । ती सवै प्रतिकृया प्रति सवैलाई सम्मान व्यक्त गर्न आवश्यक ठानेकी छु । किनकी, कतिपय प्रतिकृयाबाट आफूलाई सच्चिने र प्रेरणा लिएर अगाडी बढ्ने मार्गका रुपमा पनि लिएकी छु ।  मैले तीज सम्बन्धी गीत पोष्ट गरेका कारण संस्कृति खतम गरे , राइहरुले पनि यस्तो गरे भनेर प्रशस्त सुझाव प्राप्त गरेकी छु ।  धेरै प्रष्टयाउनु जरुरी पनि ठानेकी छैन् त्यसबारे ।

मैले कुनै जाति,धर्मको संस्कृति सभ्यतालाई सकरात्मक ढंगले अनुशरण गर्नु अनुचित हो भनेर प्रश्न गर्नु किमार्थ ठिक होइन जस्तो लाग्छ । हिजो मिलेर बसेको समाज भित्र यहि संस्कृतिलाई धावा बोल्नु हामीलाई सुहाउने हुदै होइन् । तीजलाई हिजो र आज नियालेर हेर्ने हो भने यो पर्व मनाउने तरिकामा निकै परिवर्तन भएको छ ।

परिवर्तनशिल समय,समाज र समयको माग अनुसार हरेक क्रियाकलाप र गरिने व्यबहारमा परिबर्तन हुनु स्वभाविकै हो । तर कतिपय धर्म, सस्कृति र परम्पराहरु निभाउने क्रममा कतै अल्मलिएर आफ्नो रितिरिवाजलाई विसङ्गति र विकृति तर्फ धकेल्नु धर्म र सस्कृतिको जगेर्ना गर्न नसक्नु हो भन्ने पनि हेक्का राख्नु जरुरी छ । पहिलेपहिले “म सानो छँदा तिजको बेलामा गाउँघरमा सबै महिला दिदीबहिनी एकै स्थानमा भेला भएर सुखदुःखका गीत गाएर मादलको तालमा नाच्ने र छोरी चेलीलाई बोलाएर आफ्नै घरमा मिठो मसिनो पकाएर खुवाएर तिज मनाउने गरिन्थ्यो । तर आजभोलि आफ्नै मौलिक स्वभाव बिर्सेर आयातित अनुकरण सुख खोज्ने कार्यहरू भइरहेको छ । जसको कारणले परापुर्व कालदेखि मान्दै आएका धर्म सस्कृति लोप हुदैछन । तिजमा उच्छृङ्खल, तडकभडक र देखासिकी बढ्दै गएको छ । दिन प्रतिदिन परम्परागत संस्कृति र संस्कार अनुसारको नेपाली मौलिकपन नहुँदा तिज प्रति यस्तो चिन्ता आउनु स्वाभाविक पनि हो । तीजलाई तिजजस्तै तरिकाले संयमित भएर साच्चै तीजपर्व आफैमा राष्ट्रको सम्पत्ति हो । यसलाई संरक्षण गरिनु सवैको जिम्मेवारी हो भन्ने पनि लाग्छ । (दमक ६ निवासी एवइ हाल अमेरिका बस्दैआएकी छिन् । )

Facebook Comments Box