दमक/ प्रदेश एक अन्तर्गतको संखुवासभा मादी नगरपालिका १ उमलिङमा एकै घर परिवारका छ जनाको हत्या भएको छ । ११ बर्षिया बालिकादेखि ८४ बर्षिया बृद्धा सम्म रहेको कार्की परिवारको हत्या भएको हो ।
आज बिहान पौने १० बजे सो ठाउँमा ८४ बर्षीया पार्वती कार्की, ५२ बर्षीय तेज बहादुर कार्की, ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया रञ्जना कार्की, ११ बर्षीय दिपेन कार्की र ७ बर्षीया गोमा कार्कीको शव हत्या गरिएको अवस्थामा फेला परेको हो । उनीहरु सबै एकै परिवारका सदस्य हुन । ईलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पुर्वमा रहेको सो ठाउँमा भएको यो घटनाले सो क्षेत्र अहिले शोकाकुल बनेको छ । केही मिटर वरपर छरिएको अवस्थामा उनीहरुको शव भेटिएको थियो । घटनाका बिषयमा प्रहरीले अनुसन्धान शुरु गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यस अघि २०७६ साल जेठ ७ गते मोरङ र पाँचथरको संगमस्थल मिक्लाजुङ गाउँपालिकाको ३ नम्बर वडामा पर्ने आरुबोटेमा दुई परिवारका ९ जनाको हत्या भएको थियो ।
आफनै दाजुको हत्या गर्ने पक्राउ
यसैबीच आफ्नै दाजुको हत्या गरेर फरार रहेका झापा कचनकवल ३ का ३७ बर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । कचनकवल गाऊपालिका ३ केचना घर भई हाल बिर्तामोड नगरपालिका ४ मा डेरा गरेर बस्ने ५० बर्षीय भात्रु राजबंशीको हत्या गरेको आरोपमा भाई रतन पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उनकै भाई रतन राजबंशीले मार्तलले हानेर हत्या गरेको खुल्न आएको छ । दाजुको हत्या गरेर फरार रहेका रतनलाई प्रहरी टोलीले हिजै राती ९ बजे मेचीनगर १५ बाट मार्तल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई जिल्ला अदालत झापाबाट कर्तव्य ज्यान मुद्धामा म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको छ ।