दमक/ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत झापाको दमक र कमलका अधिकांश वडा अधिवेशनको प्रकृया शुरु भएको छ ।
अधिवेशन अन्तर्गत क्रियाशील सदस्यहरु तथा नेता कार्यकर्ताहरुबीच पार्टीको भावी नेतृत्व र मजबुतताका बिषयमा अन्तरक्रियात्मक छलफलहरु शुरु भएका छन । केन्द्रिय कार्यतालिका अनुसार आज १८ भाद्रबाट नै वडा अधिवेशन प्रारम्भ भएको हो भने निर्वाचन कार्यक्रम भोली १९ गते शुरु हुँदैछ । दमक ८ मा निर्वाचन गराउने जिम्मेवारी पाएका पत्रकार गिरिराज भट्टराईले कस्मिक पार्टी प्यालेसको सभाकक्षमा अधिवेशनको प्रकृृया शुरु भइसकेको जनाए । उनले पूर्व निर्धारित कार्यक्रम अनुसार भोली शनिबार बिहान ११ बजे मतदाता नामावली प्रकाशन हुने जनाएका छन । सो वडामा यस अघिनै क्रियाशील भेला सम्पन्न भएको र सर्वसम्मत नेतृत्व चयनको कसरत अन्तिम चरणमा रहेको दमक ८ का कांग्रेस सभापति उमानाथ ढुंगानाले जानकारी दिए ।
त्यसैगरी दमक ९ मा आज ( शुक्रबार) नै क्रियाशील भेला सम्पन्न भएको छ । पार्टीका युवा नेता तथा महासमिति सदस्य मेदनी प्रसाद सिटौलाको प्रमुख आतिथ्य र वडा सभापति राजकुमार गौतमको सभापतित्वमा भएको भेला पनि नेतृत्व चयन र सांगठनिक गतिबिधिका बिषयमा केन्द्रित भएको बताइएको छ । सो भेलामा प्रमुख अतिथी सिटौला, हरिभक्त सुवेदी, मन्धरा पौडेल लगायतले समसामयिक बिषयमा धारणा राखेका बताइएको छ ।

त्यसैगरी दमक ५ मा पनि क्रियाशील कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । पार्टीका महासमिति सदस्य शेर बहादुर भट्टराईको प्रमुख आतिथ्य र वडा सभापति राजु राउतको सभापतित्वमा आयोजित भेलामा पनि कार्यकर्ताहरुले आआफनो दाबी पेश गरेका बताइएको छ । त्यस्तै कमल गाउँपालिका वडा नं ५ , ६ र ७ मा अधिवेशनको सन्मुखमा क्रियाशील सदस्यहरुको भेला सम्पन्न भएको बताइएको छ ।
वडा नं ५ मा पार्टीका आमन्त्रित केन्द्रिय सदस्य दिलिप राईको प्रमुख आतिथ्य र पूर्व जिल्ला सभापति पूर्णानन्द शर्माको विशेष आतिथ्यमा भेला सम्पन्न भएको हो । भेलामा पार्टी महासमिति सदस्य टिकाराज सापकोटा, जिल्ला सदस्य हुकुमसिंह राई, क्षेत्रीय सचिव धर्मानन्द भट्टराई, कमल गाउँ सहसभापति राजकुमार न्यौपाने लगायतले पार्टीको अधिवेशन र सांगठनिक क्रियाशीलता र आगामी रणनीतिका बारेमा समेत धारणा राख्दै सर्वसम्मत नेतृत्व चयनमा आफूहरुले अधिकतम प्रयास गरेको बताए ।

नेताहरुले कार्यकर्ताहरुबाट म्याण्डेड पाएको अवस्थामा सो वडामा सर्वसम्मत नेतृत्व चयनको खाका आफूहरुले प्रस्तुत गर्ने बताएका थिए । सो अवसरमा क्रियाशील सदस्यहरुले क्षेत्रीय प्रतिनिधि र वडा समितिका विभिन्न पदहरुमा आफनो दाबी पेश गरेका थिए । सो वडामा सुशीला पन्तलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी कमल ६ मा हिजो बिहिबारनै वडा अधिवेशनको पूर्व तयारी स्वरुप क्रियाशील कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । सो वडामा मतदान अधिकृतका रुपमा पत्रकार विष्णु सुब्बा खटिएका पार्टीका वडा सभापति रोशन दाहालले जनाए । त्यसैगरी कमल ७ मा पनि क्रियाशील भेला सम्पन्न भएको छ । सो वडामा पत्रकार शेखर सेढाइँले समेत क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा गरेका छन ।