दमक/नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत हुने गाउँ नगर अधिवेशनका लागि झापाका दमक नगरपालिका र कमल गाउँपालिकामा चुनावी प्रतिस्पर्धाको संकेत देखिएको छ ।
गाउँ/नगर सभापति १ का लागि सबै जसो पालिकाहरुमा अघिल्लो महाधिवेशनमा जस्तै ३÷४ जना सम्म उम्मेदवार बन्ने संकेत देखिएको हो । यस अघिका अधिवेशनमा क्रियाशील सदस्यहरु गाउँ/नगर समितिको नेतृत्व चयनमा निर्णायक हुदैं आएकोमा यस पटक भने क्रियाशील सदस्यहरु मतदाताका रुपमा रहन पाउने छैनन । कोरोना महामारीको कारण देखाउँदै नेतृत्व चयनका लागि सम्बन्धित पालिकाबाट चुनिएका क्षेत्रीय प्रतिनिधिहरुलाई नै अधिकार सम्पन्न बनाइएको छ । यसलाई कतिपय कांग्रेसजनहरुले क्रियाशील सदस्यहरुको अधिकार कटौती गरेर नेताहरुको कब्जामा लगिएको भनि टिप्पणी गर्दै आएका छन । तथापी झापामा कांग्रेस अधिवेशनको सरगर्मी बढीसकेको छ ।
केन्द्रिय नेताहरुको दौडधुप दिनै पिच्छे हुन थालेको छ भने कुनै न कुनै बहानामा गुटगत भेला र छलफलहरु चलिरहेका छन । कांग्रेसका पूर्व महामन्त्री एवं अघिल्लो महाधिवेशनमा सभापतिका प्रत्यासी नेता कृष्णप्रसाद सिटौला, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा जस्ता राष्ट्रिय राजनीतिमा परिचित नेताहरुको गृह जिल्ला पनि भएकाले सधैंका बर्षहरुमा यि दुई नेताका समर्थकहरुको अलग अलग समुह बन्ने गथ्र्यो । गाउँ नगर सम्म त्यस्ता समहुको सक्रियता हुने गरेकोमा यस पटक १४ औं महाधिवेशनमा नेता सिटौला सभापतिको उम्मेदवार हुने सम्भावना कम भएको चर्चा बाहिर आइरहुन र पूर्व क्षेत्र ( मोरङ)बाट डा. शेखर कोइराला सभापतिको दौडमा अघिल्लो महाधिवेशन लगत्तै देखि लागेका कारण डा. कोइरालाका समर्थकहरु झापामा भित्र भित्रै सक्रिय बनेका बताइएको छ । यद्यपी सिटौलाको गृह जिल्ला भएका कारण पनि खुलेर उनीहरु समुह बनाउने तर्फ लागेका छैनन । सिटौला समुह ठुलो भएका कारण उनका विश्वास पात्रहरुनै अन्यौलमा पर्दै गएका छन ।
यसैबीच दमक नगर सभापतिको उम्मेदवार हुने चर्चामा रहेका तीन जना आकांक्षीहरुबीच एक अर्कालाई समर्थन गरेर अघि बढने संकेत अहिले सम्म देखिएको छैन । वर्तमान नगर सभापति रोशन विष्ट आफनो कार्यकालका अधुरा काम गर्न समय अपुग भएको भन्दै पुनः एक कार्यकाल नगर सभापतिमा आफनो उम्मेदवारीको अडानबाट पछि हटेका छैनन भने वर्तमान नगर सचिव तथा दमकको व्यवसायिक क्षेत्रमा लामो समय नेतृत्व गरिसकेका प्रकाश प्रसाइँ र अघिल्लो महाधिवेशनमा सभापतिका प्रत्यासी पर्शुराम रिजालले पनि १४ औं महाधिवेशनमा आफूलाई सशक्त उम्मेदवारका रुपमा दाबी गर्दै कार्यकर्ताहरु माझ गइरहेका छन । सभापतिका आकांक्षी तीनै जना यहाँका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि नेताहरुको समुह समुहबाट उम्मेदवार बन्ने देखिएकाले पनि यहाँ सर्वसम्मत नेतृत्व चयनको सम्भावना क्षिण बन्दै गएको हो । सभापतिका तीनै जना उम्मेदवार यहाँका युवा बिद्यार्थी नेतृत्वलाई कार्य समितिमा विभिन्न जिम्मेवारी दिएर अघि बढन खोजेको दाबी गरिरहेका भएपनि उनीहरुको रिमोर्ट क्षेत्रका शीर्ष नेताहरुको हातमा रहेको दाबी छ ।
दमकसंगै जोडिएको कमल गाउँपालिकामा पनि कांग्रेस नेतृत्व सर्वसम्मत चयन हुने सम्भावना न्यून रहेको बताइएको छ । कमल गाउँ पालिकाको सभापतिका लागि हालका सभापति खगेन भण्डारी, तत्कालिन लखनपुर सभापति एवं (तोपगाछी, लखनपुर) समायोजनपछिका सहसंयोजक राजकुमार न्यौपाने, साविक तोपगाछीका पूर्व सभापति बुद्धि न्यौपाने , साविक लखनपुरका सभापतिका प्रत्यासी प्रमोद दाहाल लगायतका स्थानीय नेताहरु आकांक्षी रहेका छन ।