दमक/ पटक पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मसिंरमा हुने निश्चित भएपछि सबैभन्दा तल्लो तह ( वडास्तर) मा नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई चुनावी रौनकले तताएको छ । यस पटक कांग्रेस अधिवेशनमा क्रियाशील सदस्यहरुको भुमिका गौण रहने भएपनि क्षेत्रीय प्रतिनिधि बनेर आउनेमा क्रियाशील सदस्यहरुदेखि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु समेत जोडतोडका साथ लागेका छन ।
धमाधम क्रियाशील भेला
यसैबीच अधिवेशन तोकिएपछि झापाका अधिकांश वडा तहमा कांग्रेसले नेतृत्व चयनको कसरत गर्दै क्रियाशील कार्यकर्ताहरुको भेला आयोजना गर्न शुरु गरेको छ । गौरीगञ्जका अधिकांश वडामा क्रियाशील कार्यकर्ताको भेला गरिएको छ । वडा नं १ मा मंगलबार आयोजित क्रियाशील भेलामा समसामयिक बिषयहरुमा छलफल हुुनुका साथै भावी नेतृत्व चयनका बिषयमा स्थानीय नेता कार्यकर्ताहरुबीच अन्तर सम्वाद शुरु भएको जनाइएको छ ।

वडा सभापति दिनेश्वर प्रसाद राजवंशीको सभापतित्व , कांग्रेस झापाका जिल्ला सदस्य एवं निर्वाचित वडाध्यक्ष कार्तिकलाल राजवंशीको प्रमुख आतिथ्य र महाधिवेशन प्रतिनिधि नेत्र पौडेलको विशेष आतिथ्यमा भएको भेलामा वडा सभापति, क्षेत्रीय प्रतिनिधि लगायतका पदका आकांक्षीहरुले आआफनो दाबी पेश गरेका बताइएको छ । कांग्रेसले दमकको ८ नम्बर वडामा पनि बुधबार क्रियाशिल भेला गरेको वडा सभापति उमानाथ ढुंगानाले बताए । त्यसैगरी कमल, गौरादह लगायतका पालिकाहरुमा पनि वडास्तरमा कार्यकर्ताहरुको भेलाको क्रम शुरु भएको जनाइएको छ ।
निर्वाचन निर्देशिका अनुसार गत निर्वाचन संघीय निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रका प्रत्यासी एवं निर्वाचित सांसद र केन्द्रिय नेताहरु बाहेक अन्य सबैले वडातहबाट क्षेत्रीय प्रतिनिधि हुँदै चुनिएर आउनुपर्नेछ । कांग्रेस झापाका सभापति उद्धव थापाको सभापतित्वमा जिल्ला समिति, जिल्लास्थित महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, गाउँ नगरका सभापतिहरु समेत सहभागी बैठकले १९ भाद्रमा जिल्लाका सबै पालिकाहरुमा रहेका वडाहरुमा अधिवेशन कार्यक्रम शुरु गर्ने निर्णय गरेको थियो । पार्टी केन्द्रले झापामा अधिवेशन सम्पन्न गर्न सुवोध चिलवाललाई निर्वाचन अधिकृतका रुपमा खटाएको छ ।
पार्टीका सूचना तथा प्रचार विभाग सचिव राजेन्द्र गौतमका अनुसार निर्वाचन समितिको बैठकले १९ गते अधिवेशन शुरु गर्ने २० गते मतदान हुनेछ ।
यस्तो छ निर्वाचन कार्य तालिका
भाद्र १९, २०७८
१. मतदाता नामवली प्रकाशन दिनको ११ बजे
२. उम्मेद्वारी दर्ता १२.०० देखि २.०० बजे
३. दाबी बिरोध २.०० “ २.३० बजे
४. नामावली प्रकाशन ३.०० बजे
५. उमेद्वारी फिर्ता ३.०० देखि ५.०० बजे
६. अन्तिम नामावली प्रकाशन ५.३० बजे
भाद्र २०, २०७८
१. मतदान बिहान ९.०० देखि १.०० बजे
सम्म।