दमक/नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीको ८ औं नगर सम्मेलन आयोजक कमिटी बनेको छ । संघका नगर कमिटी अध्यक्ष राम पौडेलको अध्यक्षता र नेकपा एमालेका प्रदेश कमिटी सदस्य होम बहादुर थापाको प्रमुख आतिथ्यमा आज ( शनिबार) पार्टी कार्यालयमा बसेको विस्तारित बैठकले डेन्जोङ लामाको संयोजकत्वमा ६८ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।
यस अघि पौडेलको अध्यक्षमा २०७२ जेठमा युवा संघ दमक नगर कमिटी क्रियाशील थियो ।

पार्टीले सञ्चालन गरिरहेको संगठन सुदृढिकरण अभियान अन्तर्गत युवा संघको ८ औं नगर सम्मेलन तीन महिना भित्र सम्पन्न गर्ने म्याण्डेड सो सम्मेलन आयोजक कमिटीलाई दिइएको छ । लामाको संयोजकत्वमा रहेको आयोजक कमिटीको उपाध्यक्षमा खेम सापकोटा, सचिवमा विवेकशर्मा भट्टराई , सहसचिवमा राजन श्रेष्ठ र कोषाध्यक्षमा ख्यामकुमारी परियार ( सरु) रहेका छन । विस्तारित बैठकमा दमक नगर उपप्रमुख गीता अधिकारीले स्थानीय तहबाट भए गरेका महत्वपूर्ण कामहरुका साथै भावी योजनाहरुका बिषयमा समेत जानकारी गराउँदै शुभकामना दिएकी थिइन भने नेकपा एमाले नेतृ तथा अनेमसंघ जिल्ला सचिव लिला ढुंगेल दाहालले पार्टीले सञ्चालन गरिरहेको अभियानका साथै युवाहरुको भुमिकाका बिषयमा चर्चा गर्दै शुभकामना दिएकी थिइन ।
साहसिक युवा सम्मान प्रदान
यसैबीच सो अवसरमा युवा संघको विगठित नेतृत्वले कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका तीन जना स्काउटर युवालाई साहसिक युवा सम्मान पुरस्कार प्रदान गरेको छ । स्काउटरहरु किरण बुढाथोकी, विमल विक र सविन लिम्बुलाई साहसिक युवा सम्मान स्वरुप जनही नगद २ हजारका दरले पुरस्कार र सम्मान प्रदान गरिएको युवा संघ नगर सम्मेलन आयोजक कमिटी सदस्य कविता पौडेल अधिकारीले जानकारी दिइन ।

 

Facebook Comments Box